एमसीसीका कारण गठबन्धन अहिले टुट्ने अवस्थामा पुग्याे : सीपी गजुरेल
काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ । नेता गजुरेलले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताउनुभएको हो ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले एमसीसीको सङ्कट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा सङ्कट छ । व्यवस्थापिकामा सङ्कट छ । उनीहरू नै भन्छन् । हामीले मात्रै भनेको होइन । प्रतिक्रियावादीहरूको एउटा हिस्साले के भन्छ भने– सङ्कटै सङ्कट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ ।’
नेता गजुरेलले देशकाे अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरूसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।