उपत्यकामा अविरल वर्षा, डाँडा र भञ्ज्याङमा हिमपात
|
काठमाडौं- बिहीबार रातिदेखि परेको वर्षाका कारण उपत्यकाका विभिन्न डाँडा र भञ्ज्याङहरूमा बाक्कलो हिमपात भएको छ। वर्षासँगै चन्द्रागिरि, फूलचोकी, शिवपुरी डाँडामा हिमपात भएको छ।
राजधानीको पर्यटकीय क्षेत्रसमेत भनेर चिनिने यी डाँडाहरूमा बिहानैदेखि हिमपात भएको हो। अहिले हिमपातका कारण चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।
गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा यो दोस्रोपटक बाक्लो हिमपात भएको हो। पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।
यस्तै, हिँउ परेका कारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ। रातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो।
हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएका प्रहरीले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै राजमार्गसमेत बन्द भएको हाम्रा संवाददाताहरूले जानकारी दिएका छन्।
बैतडीको अनारखोली, खोडपे, देहीमाडौं क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपृथ्वी राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना तथा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा असिना पर्ने र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।