तीव्र हावाहुरीका कारण मधेस प्रदेश सभाको वार्षिकोत्सव स्थगित
धनुषा -तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्याएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।
शुक्रबार बिहानैदेखि चलिरहेको हावाहुरीले वार्षिकोत्सवका लागि तयार गरेको पन्डालमा क्षति भएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश सभा संसद सचिवालयले जनाएको छ । प्रतिकुल मौसमका कारण चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको प्रदेश संसद सचिवालयले अतिथि र सांसदहरूलाई एसएमएस गरेर सन्देश पठाएको छ ।
सचिवालयले पठाएको सन्देशमा मौसम प्रतिकुलताका कारण वार्षिकोत्सव स्थगित गरिएको र माघ २३ गते प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले कार्यक्रम स्थगित भएको संसद् सचिवालयका कर्मचारीले बताए । प्रदेश सभा सचिवालय शुक्रबार चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको छ । मधेस प्रदेशमा बिहीबार रातिदेखि वर्षासँगै तीव्र गतिमा हावाहुरी चल्दैछ ।