अनुदानका भैँसी बेचेर कुखुरा खरिद,गोठ रित्तै
सल्यान -सल्यानमा सरकारी अनुदानको चरम दुरुपयोग भएको पाइएको छ। अनुदान पाएका कृषि फार्मले अनुदानको रकमबाट किनेका भैँसी बिक्री गरेको खुलासा भएको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट अनुदान पाएका शारदा नगरपालिका–५ मा रहेको छहरेखोला कृषि कम्पनी र सिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडामा रहेको बस्नेत भैँसी फार्मले अनुदानको रकमबाट खरिद गरिएका भैँसी बिक्री गरेको पाइएको छ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयले दुई वर्षअघि भैँसीपालनका लागि रातामाटा छहरेखोला कृषि कम्पनी प्रालिलाई २० लाख रुपैयाँ अनुदान दिएको थियो। त्यतिबेला गोठ बनाएर ४७ वटा भैँसी पालन गरिएको थियो। तर, अहिले गोठ रित्तै छ।
कम्पनीका सञ्चालक लालबहादुर कुमाईले सुरुमा राम्रै आम्दानी भए पनि पछिल्लो समयमा घाटा हँुदै गएपछि भैँसी बिक्री गर्नु परेको बताउनु भयो । उहाँले उन्नत जातका भैँसी किनेर ल्याउँदा हावापानीको कारणले फस्टाउन नसकेकोले दूध पनि कम दिँदा भैँसी बिक्री गर्नु परेको बताउनु भयो ।
कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत किसानको जीवनस्तर सुधार ल्याउँदै दूध उत्पादनमा वृद्धि गर्न आर्थिक अवस्था कमजोर भएका तथा व्यवसायमा लागेका किसानलाई बंगुर, बाख्रा, गाईभैँसी, माछापालनलगायतका लागि अनुदान रकम उपलब्ध गराउँदै आएको छ।
गत आर्थिक वर्षमा मात्रै सल्यानका पाँच स्थानीय तहमा एक करोडको लागतमा १७४ वटा भैँसी वितरण गरिएको थियो भने यो वर्ष पनि करिब दुई करोड रकम खर्च गरिँदै छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले अनुदानको रकम लिएका किसानलाई फेरि पनि व्यवसाय गर्न आग्रह गर्नु भयो । सरकारी अनुदान पाएका कृषि फार्मको अनुगमन गरी रकम दुरुपयोग भएको भए कारबाहीको दायरा ल्याउने उहाको भनाइ छ।