प्रधानन्यायाधीशमाथिकाे महाअभियोगबारे आउँदाे संसद् बैठकमा छलफल हुन्छ : मन्त्री बडू
काठमाढडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्ताव अघि बढ्ने जानकारी दिनुभयो । उहाँले हाम्रो नियमावलीको व्यवस्थाअनुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिनुभयो ।
त्यसका लागि ११ जनाको महाअभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको वस्तुगत आधारसमेत तयार गरेर फेरि संसदमा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।
यस्तै पत्रकारहरूसँगकाे कुराकानीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले महाअभियोग प्रस्तावका विषयमा सुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताउनुभयो ।