Connect with us
Kapilvast Forest

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

२०७८, ८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामार आज मङ्गलवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले बैठकमा निर्देशन दिँदै भन्नुभयो, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईँहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गर्नुभएको थियो । उहाँले मन्त्रालय एवम् मातहतका सबै सरकारी कार्यालयहरूलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारीसाधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरू अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्ने र विद्युतको खपत बढाउनुपर्ने अवस्था छ ।’