Connect with us

ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२०८३, २६ कार्तिक बुधबारमा प्रकाशित

 अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार गरेको हो । ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन ।

करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएको पिपुल पत्रिकाले जनाएको छ । फैसलापछि भट्टले हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय पाउन सक्नेछन् । उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ ।

शव टुक्र्याएर फालेको स्वीकार, हत्या गरेको अस्वीकार

सुनुवाइका क्रममा भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका थिए । तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए ।

एनबीसी वासिङ्टनका अनुसार भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको र उनलाई ब्युँताउने प्रयास गरेको बताएका थिए । करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गर्दा पनि सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो ।

उनले ममताले आत्महत्या गरेको हुन सक्ने दाबी गर्दै आफूलाई दोषी ठहर गरिने डरले शव लुकाएको बताएका थिए । शव फोहोरको भाँडोमा नअटाएपछि आराले टुक्र्याएर विभिन्न झोलामा राखी फालेको उनले अदालतमा स्वीकार गरेका थिए ।

तर सरकारी वकिलहरूले भट्टले नै ममताको हत्या गरेर शव टुक्र्याएको र उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फालेको दाबी गरेका थिए । उनीहरूले भट्टको दाबीलाई पत्याउन नसकिने भन्दै हत्या योजनाबद्ध रूपमा गरिएको तर्क गरेका थिए ।

सुनुवाइका क्रममा सरकारी वकिल सारा सामीले जुरीसमक्ष भनेकी थिइन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे । उनले ममता काफ्लेको शव टुक्र्याए र फोहोरजस्तै गरी फालिदिए ।’

सरकारी वकिलहरूले भट्टको बयानलाई ‘बनाइएको पागलपनपूर्ण कथा’ भन्दै विश्वास नगर्न पनि जुरीलाई आग्रह गरेका थिए ।

आरामा ममताको डीएनए भेटियो

सरकारी पक्षले भट्टविरुद्धको प्रमाणका रूपमा आरासहित विभिन्न सामग्रीमा भेटिएका रगतजस्ता दाग, कपाल, घरको कार्पेटमा भेटिएको डीएनए, निगरानी क्यामेराका दृश्य र मोबाइल फोनका विवरण प्रस्तुत गरेको थियो ।

भट्टले सन् २०२४ जुनमा होम डिपोबाट एउटा विद्युतीय आरा किनेको देखिने निगरानी क्यामेराको दृश्य अदालतमा पेस गरिएको थियो । उक्त आरामा रातो-खैरो रङका दाग र कपालजस्ता रेसा भेटिएको अनुसन्धानकर्ताहरूले बताएका थिए ।

सीएनएनका अनुसार आराको भित्री भागबाट लिइएका नमुनासहित केही नमुनाको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खाएको फरेन्सिक परीक्षणले देखाएको थियो । यस्तै, दम्पतीको शयनकक्षको कार्पेटमा भेटिएको दागको डीएनएमा ममता र उनकी छोरीको डीएनए रहेको बलियो आधार देखिएको फरेन्सिक विज्ञले अदालतमा बताएका थिए ।

तर प्रतिरक्षा पक्षले ती दाग कसरी लागे भन्ने कुरा डीएनए परीक्षणबाट मात्रै पुष्टि नहुने तर्क गरेको थियो ।

सरकारी पक्षले ममता बेपत्ता भएको समय आसपास भट्टले फोहोर फाल्ने झोला र सरसफाइका सामग्री किनेको दृश्य पनि प्रस्तुत गरेको थियो । उनको गाडी र मोबाइल फोनका विवरणबाट विभिन्न फोहोर सङ्कलन केन्द्रसम्म पुगेको देखिने दाबी पनि गरिएको थियो ।

परिवार र प्रहरीसँग झूट बोलेको स्वीकार

अदालतमा जिरहका क्रममा सरकारी वकिल म्याथ्यु स्वीटले भट्टलाई ममताका आफन्त, साथीभाइ, छिमेकी र प्रहरीसँग झूट बोलेकोबारे प्रश्न गरेका थिए । भट्टले आफूले झूट बोलेको स्वीकार गरेका थिए ।

ममताका दाजु महेश काफ्लेले पनि अदालतमा बयान दिएका थिए । उनले बहिनीले अनुहारमा चोट लागेको देखिने तस्बिर पठाएको र आफू असुरक्षित महसुस गरिरहेको बताएको जानकारी दिएका थिए । दम्पतीबीचको सम्बन्धमा तनाव रहेको विषयमा उनीहरूका साथीहरूले पनि अदालतमा बयान दिएका थिए ।

प्रतिरक्षा पक्षकी वकिल ट्रेसी लेनोक्सले भने ममता वैवाहिक सम्बन्धमा खुसी नरहेको र परिवारबाट सम्बन्ध कायम राख्न दबाब परेको तर्क गरेकी थिइन् । उनले सरकारी पक्षले हत्याको अभियोग शङ्कारहित रूपमा पुष्टि गर्न नसकेको भन्दै जुरीलाई भट्टलाई दोषी नठहर्‍याउन आग्रह गरेकी थिइन् ।

ममताको शव अझै भेटिएको छैन

नेपालकी नर्स ममता काफ्ले सन् २०२४ जुलाईमा बेपत्ता भएकी थिइन् । लगातार दुई दिन काममा नआएपछि उनको कार्यस्थलले प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका क्रममा भट्टले सुरुमा ममता घर छाडेर गएको र न्युयोर्क वा टेक्सास गएको हुन सक्ने बताएका थिए ।

तर अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले उनलाई २२ अगस्ट २०२४ मा पक्राउ गरेको थियो । सुरुमा शव लुकाएको अभियोग लगाइएका भट्टमाथि पछि प्रथम श्रेणीको हत्या र शव विकृत बनाएको अभियोग पनि थपिएको थियो ।

अदालतमा भट्टले शव टुक्र्याएर फालेको स्वीकार गरे पनि ममताको शव कहाँ छ भन्ने खुल्न सकेको छैन । उनको शव फेला नपरेका कारण मृत्युको चिकित्सकीय कारण पनि स्थापित हुन सकेको छैन ।

भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । शव लुकाएको र विकृत बनाएको अभियोगमा पनि छुट्टाछुट्टै सजाय हुन सक्नेछ । भट्टको सजाय निर्धारण आगामी १२ मार्च २०२७ मा हुनेछ ।