Connect with us
Kapilvast Forest

नेताहरु सुकिला मुकिला भए, फेरिएन् गरिबको अवस्था

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

टुकलाल पौडेल ‘सागर ’

अहिले देशभरी जताततै बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावको चर्चा चलिरहेको छ । बैशाखको अन्तिममा हुन गइरहेको चुनावले गर्दा सबैको मनमा हलचल ल्याएको छ । कसैलाई कुर्सी खोसिने डर त कसैलाई त्यहि कुर्सी चढ्ने रहर छ । यही डर र रहरका पछाडी पछाडी दौडिने हामी जनता देखि देखि पनि नदेखे झै गरी गल्ती गर्दा पनि उनकै शरणमा पर्ने गरेका छौ ।

नेतालाई नै सर्वाेपरि ठानी समाजको विकासमा जुटलान् भन्ने मानी हामीले नै जिताएर पठाएका नेताले स्थानीय तहमा कुनै चासो दिने गरेका छैनन । मानौं महत्वपुर्ण विषयतिर ध्यान नदिई आफनै दुनो सोजाएर हिडेको देख्दा गलत ठाँउमा आफनै अमूल्य मत गएछ भनि पछुताउनु शिवाय अर्काे विकल्प छैन । गल्ती हाम्रो हो जसलाई जानी बुझी पनि हामीले मत दिएर जिताएको थियौ ।

हाम्रा गाँउ समाजका हरेक समस्या समाधान होलान् । बजार व्यवस्थापन भइ सफा सुन्दर नगर निमार्ण होला ?  शिक्षा, स्वास्थ्य, सबै कुरा राम्रो होला ? भनि आफनो अमुल्य मत दिएर जिताएका महाशयहरुको नजर भने केबल चिल्ला गाडीमा परे । कहिल्यै परेनन नजर कुहिएर गन्ध आउने नाली । प्रदुषणले धुलो मैलो बाटोमा उड्दा गाडीको सिसा तानेर हिड्ने महाशयहरुको दिमागमा प्रदुषण व्यवस्थापन गरौं भन्ने सोच कहिल्यै आएन । चुनाव जितेर यसो गर्छौ उसो गर्छाै भन्दै आश्वासन दिनेहरु आज आफनै चाजोपाजो मिलाउन मै व्यस्त छन त के आशा गर्ने यीनीहरुबाट विकासको….. ?

नेताहरुको गाडी फेरिए, श्रीमतिको रंगिबिरगी साडी फेरिए, बिडम्बना कहिल्यै फेरिएन गरिब जनताका दिनहरु । कहिल्यै पुरा भएन स्थानीयवासीका चाहनाहरु ….  ।

सावधान ! चुनाव नजिकिदै छ । फेरी पनि घर घरमा नमस्ते गर्दै आइपुग्छन सर्पले काँचुली फेरे झै रुप बदल्ने दुई जिब्रेहरु । सोचौं धेरै नै सोचौं । अफनो मतको सहि ठाँउमा प्रयोग गरौ ता की हाम्रो मतले हाम्रो समाजको,जिल्ला र देशका नै मुहार फेर्न सकोस् ।

जीवनमा कुनै पेशा व्यवसायमा सफल नभएको राजनीतिमा विषेश ज्ञान हासिल नगरी राजनीतिलाई व्यपार बनाई एक पल्ट चुनाव जित्न पाए टन्नै धन सम्पती जोडौला भन्ने सोच भएका व्यक्ति र अर्काे जीवनमा कुनै संघर्ष नगरी दलाली पेशा वा कानुन बिपरित काम गरी अथाह सम्पति आर्जन गरेको र शक्तिको आडमा चुनाव जित्न पाए अझै धेरै सम्पति कमाउला भन्ने मानसिकता भएको व्यक्तिलाई भोट नदिनु नै हाम्रो भलो हुनेछ ।

जुन उम्मेद्वारको शैक्षिक योग्यता राम्रो छ । जीवनमा संघर्षगरी आफनो पेशा व्यवसायमा सफल भइ इमान्दारीका साथ अघि बढेको छ त्यस्तो व्यक्तिलाई नै भोट दिनु राम्रो हुनेछ ।

“हाम्रोलाई होइन राम्रोलाई भोट दिउँ।”