काष्ठमण्डप आजदेखि सर्वसाधारणका लागि खुल्ने
काठमाडौँ – काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप सोमबार (आज)देखि सर्वसाधारणका लागि खुल्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै विशेष कार्यक्रमबीच यसको लोकार्पण गर्नेछिन् । वर्ष ०७२ को भूकम्पबाट पूर्णतः क्षति पुगेको काष्ठमण्डपलाई पूर्ववतः स्थितिमा पुगेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
नेपाल भाषामा काष्ठमण्डपलाई ‘मरुसतः’ भनिछ र यसको निर्माण कार्य कहिले पनि नटुंगिने विश्वास गरिन्छ । त्यसैले यसको राष्ट्रपतिबाट लोकार्पण मात्र हुन लागेको हो, उद्घाटन होइन् ।
जुन दिनसम्म काठमाडौंमा खाने तेल र नुनको भाउ बराबर हुन्न, त्यति बेलासम्म मरुसतः को निर्णाण पूरा नहुने जनविश्वास हो । बेलायतको डरहम विश्वविद्यालयले गरेको अध्ययनअनुसार काष्ठमण्डपको इतिहास कम्तीमा सातौं शताब्दीको हाराहारी हुने अनुमान छ । यसको पुनर्निर्माणमा शतप्रतिशत नेपालकै पारम्परिक मौलिक प्रविधि प्रयोग गरिएको छ र यसमा संलग्न सबै कालिगढी पनि नेपाली नै रहेका छन् । यसको पुनर्निर्माण २०७५ सालदेखि सुरु भएको हो ।