प्रदेश १ मा वडासम्मै मिल्न सत्तारूढ संसदीय दलहरूको सुझाव
विराटनगर-प्रदेश १ सरकारमा सहभागी दलहरूका संसदीय दलले वडा तहसम्मै चुनावी गठबन्धन गर्न र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि समेट्न सुझाव दिएको छ।
आइतबार विराटनगरमा भएको गठबन्धन दलहरूका संसदीय दलका नेताहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेर केन्द्र र प्रदेश संयन्त्रहरूलाई सुझाव दिएको माओवादी केन्द्रका दलका नेता एवम् आर्थिक मामिला मन्त्री इन्द्र आङबोले जानकारी दिए।
उनका अनुसार वडा तहसम्म हुने गठबन्धनले मात्रै प्रभावकारी नतिजा दिने आँकलन अनुसार यस्तो सुझाव दिइएको हो।त्यस्तै प्रदेश सरकारमा सहभागी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई प्रदेशको गठबन्धनमा सामेल गर्न पनि संसदीय दलका नेताहरूले सुझाव दिएका छन्।
बैठकमा मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई, नेपाली काँग्रेसका नेता राजीव कोइराला, माओवादीका नेता आङ्बो र जनता समाजवादीका नेता एवम् स्वास्थ्यमन्त्री जयराम यादव सहभागी थिए।
शनिबार मात्रै प्रदेश १ का चार दलका नेताहरूले चुनावी तालमेलको मोडेल तयार पार्न सबै दलका दुई-दुई जना प्रतिनिधि रहने गरी कार्यदल गठन गरेका थिए।