बुटवलमा मगर युवा संघले जलायो ओलिको पुत्ला
बुटवल -बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो ।
ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा पुत्ला दहन गरेको हो ।२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको भएपनि ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समुदायको अपमान गरेको भन्दै पुत्ला जलाएको उनीहरुले बताएका छन् ।
बुधबार पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणबद्ध आन्दोलन गर्ने बताए ।