बैंकमा पैसा छैन, नेताको घरमा छ : राजेन्द्र लिङदेन
हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा आर्थिक संकट छाइरहेको बेलामा बैंकमा नभएको पैसा नेताहरूको घरमा भएको आरोप लगाउनु भएको छ ।
राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको भन्दै बैंकमा रित्तिएको पैसा नेताहरूको घरमा भएको टिप्पणी गर्नु भएको हो । ‘बैंकमा पैसा छैन, भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ’, उहाँले भन्नु भयो ।
लिङदेनले विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गर्दा देश टाट पल्टिएको आरोप लगाउनु भयो । कांग्रेस, एमाले र माओवादीलाई असफल हुने छुट भएपनि देशलाई असफल बनाउने छुट नभएको उहाँको भनाइ छ।
अध्यक्ष लिङदेनले देशले कांग्रेस, एमाले, माओवादीको विकल्प खोजेको भन्दै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताउनु भयो । ‘ठीक पार्टी र ठीक नेता चिन्न नसकेकोले जनताले दुःख पाउनु भयो । १५ वर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आश अब नगरौं’, उहाँले भन्नु भयो । लिङदेनले सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेको भन्दै कम्युनिस्टहरूले राजपरिवारबारे गलत प्रचार गरेको आरोपसमेत लगाउनु भयो ।