Connect with us
Kapilvast Forest

कपिलवस्तुको वाणगंगा नदीमा चरम दोहन, सम्झौता विपरित उत्खनन्

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

-file photo

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट ठेक्का सम्झौता गरी संचालन गरिएको वाणगंगा नदीको मधुवन वगर क्षेत्रमा जथाभावी नदीजन्य वस्तुहरुको उत्खनन् भइरहेको छ । उत्खनन्का क्रममा नगरपालिका र ठेकेदार कम्पनी बीच भएको सम्झौता विपरित नदी क्षेत्रमा ढुंगा गिट्टी बालुवाको उत्खनन् गर्दा चुरे क्षेत्र विनाशको संकटमा पुगेको छ ।

चालु आर्थिक वर्ष २०७८।०७९ का लागि वाणगंगा नगरपालिकासँग खुला प्रतिस्पर्धाका आधारमा पोखरा महानगरपालिका वडा नं। ३१ को शिवम् विल्र्डसले भ्याट बाहेक ५ करोड १ लाख १ सय ५१ रुपैया बोलकबोल गरी ठेक्का लिएको छ । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले कुल ७५ हजार ९ सय ६८ घन मीटर नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएको छ । तर सम्झौताको दुगुना बढी परिमाणमा नदीजन्य वस्तु उत्खनन् गर्ने योजनासहित ठेकेदार कम्पनी अघि बढेको छ ।

नदी क्षेत्रमा ३५ सेन्टिमीटर गहिराइसम्म नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएपनि त्यसको ४ गुना बढी गहिरो गरी वाणगंगा नदीको मधुवन तटीय क्षेत्रमा उत्खनन् भइरहेको सजिलै देख्न सकिन्छ । नदीजन्य वस्तुको उत्खनन् र निकासीका विषयमा ठेक्का प्रदायक कार्यालय बाणगंगा नगरपालिका र अन्य सरोकारवाला निकायको पनि गहन अनुगमन हुन नसक्दा नदीजन्य वस्तुको दोहन यसरी बढेको हो ।

बिहान सुर्योदयदेखि साँझ सूर्यास्तसम्मका लागि ठेक्का लगाइएको भए पनि ठेकेदार पक्षबाट नगरपालिका र प्रहरी प्रशासन समेतको मिलोमतोमा राती अबेरसम्म पनि खोलाबाट नदीजन्य वस्तुको उत्खनन् भइरहेको छ । वाणगंगा नदी क्षेत्रमा रातको समयमा स्थानीय सञ्चाचारकर्मीहरु पुग्दा नदी क्षेत्रमा निकासी हुँदै गरेको, ब्याक हु लोडरको प्रयोगबाट नदी जन्यवस्तुको ओसार पोसार भइरहेको भेटिएको हो ।

नदी नियन्त्रणका लागि निर्माण गरिएका तटबन्धहरु पनि ढल्दै गएका छन् । नदी तटीय क्षेत्रको दक्षिणतर्फका गाउँहरुमा पानीको सतह तल झर्दै गएको छ ।
ठेकेदार पक्षले आफ्नो मात्रै फाइदा हेरेर नदीजन्य वस्तुको उत्खनन् गरेको प्रति स्थानीय सर्वसाधारणहरु पनि चिन्तित बनेका छन् । ठेक्का प्रदायक कार्यालयले यसको निरन्तर अनुगमन गरी नदीजन्य पदार्थको उत्खनन्लाई व्यवस्थित बनाउन स्थानीयले माग गरेका छन् । यसरी जथाभावी नदी क्षेत्रमा हुने यस्ता उत्खनन्ले नदी तटीय क्षेत्रका गाउँवस्तीमा बाढी पस्न सक्ने जोखिम बढेको छ । नदी नियन्त्रणका लागि निर्माण गरिएका तटबन्धहरु पनि ढल्दै गएका छन् । नदी तटीय क्षेत्रको दक्षिणतर्फका गाउँहरुमा पानीको सतह तल झर्दै गएको छ ।

स्थानीयका हेण्डपाइपहरु पनि सुक्दै गएका छन् । यसरी चुरे संरक्षणको सट्टा विनाश हुँदै गइरहेको घटनाप्रति जिल्लाका सबै सरोकारवाला निकायहरु जाकरुक हुनुपर्नेमा स्थानीय अगुवा युवा सुरज कुमार अग्रहरीले माग गरेका छन् । सम्झौता विपरित वातावरणीय सन्तुलनलाई बिगार्ने ढंगबाट हुँदैआएको यस्तो उत्खनन् ठेक्कालाई आवश्यक परे रद्द गरेरै भए पनि वातावरण संरक्षणमा जोड दिन स्थानीय नागरिक अगुवा दोलख पर्छाईले वाणगंगा नगरपालिकालाई अनुरोध गरेका छन् ।

सम्झौता विपरित उत्खनन् नगर्न वाणगंगा नगरपालिकाले ठेकेदार कंपनीलाई सचेत गराएको छ । अनुगमनका क्रममा नियम विपरित उत्खनन् गरेको पाइए तत्काल ठेकेदार कम्पनीलाई नियम अनुसार कारबाही गरिने वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथीले बताए ।

कपिलवस्तु जिल्लाका अन्य नदी क्षेत्रहरुमा पनि उत्खनन्का लागि लगाइएको ठेक्कामा यसै ढंगबाट सम्झौता विपरित अवैध ढंगबाट उत्खनन् कार्य भइरहेको छ । यसतर्फ स्थानीय प्रशासनलगायत अन्य सरोकारवाला निकायहरु मुकदर्शक बनेर बसेका छन् ।– अन्नपूर्णपोष्टबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu