सार्वजनिक यातायात: नौ महिनामा ३८ प्रतिशत भाडा बढ्यो
नेपालमा लामो दूरीका सार्वजनिक बसहरूमा विगत नौ महिनामा मात्रै ३८ प्रतिशतले भाडा वृद्धि भएको छ। सार्वजनिक यातायातका उपभोक्ता डिजेल, पेट्रोल लगायत यातायात सञ्चालनका लागि खपत हुने इन्धनको मूल्यमा भएको भारी वृद्धिको प्रत्यक्ष असर खेप्न बाध्य भएका छन्।
यातायात व्यवस्था विभागले गत असार अन्तिम र चैतमा गरी दुई पटक लामो दूरीका सवारी साधनको भाडा दर बढाएको छ। अधिकांश प्रदेश सरकारहरूले छोटो दूरीका सवारीसाधनको भाडा पनि कात्तिक र वैशाखबाट लागु हुने गरी यसबीचमा दुई पटक बढाएका छन्।
काठमाण्डू उपत्यकाभित्र यो नौ महिनाको अवधिमा सार्वजनिक यातायातको न्यूनतम भाडा १५ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ।
काठमाण्डूबाट सबैभन्दा बढी भाडा लाग्ने गन्तव्य
पछिल्लो पटक समायोजन भएको भाडा दर अनुसार राजधानी काठमाण्डूबाट सिधा बस चल्ने सबैभन्दा टाढाको गन्तव्य दार्चुला सदरमुकाम खलङ्गा पुग्न रु ३,८९८ भाडा लाग्ने यातायात व्यवसायीहरूले जानकारी दिएका छन्।
१३ रुटमा अन्तर्देशीय बस सञ्चालनको बाटो खुल्दा किन उत्साहित छैनन् नेपालका व्यवसायी
काठमाण्डू-दार्चुला सिधा बस सेवा सञ्चालनमा रहे पनि सरकारले यो रुटको भाडा दर तोकेको छैन। यातायात व्यवस्था विभागले भाडा दर तोकेको काठमाण्डूबाट सबैभन्दा टाढाको गन्तव्य अछामको साँफेबगर हो।
असार २८ गतेसम्म काठमाण्डूबाट करिब ९०० किलोमिटर दूरीको साँफेबगर पुग्न वा साँफेबगरबाट काठमाण्डू आउन रु १,८७३ भाडा तिर्नुपर्थ्यो। पछिल्लो भाडा दर अनुसार काठमाण्डू-साँफेबगरको न्यूनतम भाडा रु २,५८५ कायम गरिएको छ। यो भाडा दर साधारण गाडीका लागि हो।
तर लामो दूरीका गन्तव्यमा साधारण बस नचल्ने भएकाले यातायात व्यवसायीहरूले डिलक्ससहित थप सुविधाका लागि अतिरिक्त भाडा लिने गरेका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष डम्बर पन्तका अनुसार साधारण गाडीभन्दा डिलक्स सुविधा भएका गाडीमा थप १० प्रतिशत र एसी सुविधा भएका गाडीमा २० प्रतिशत बढी भाडा लाग्छ।
असार २९ गते सरकारले लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशत चैत्र १७ गते थप १० प्रतिशत भाडा वृद्धि गरेपछि सस्तो मानिने सडक मार्गको यात्रासमेत महँगो पर्न थालेको उपभोक्ताहरूको गुनासो छ।
पूर्वतर्फ सबैभन्दा बढी भाडा लाग्ने गन्तव्य भने ताप्लेजुङ हो। यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार काठमाण्डू-ताप्लेजुङको भाडा रु ३,००० लाग्छ। सरकारले यो रुटका लागि पनि भाडा तोकेको छैन तर काठमाण्डू ताप्लेजुङ सिधा बस सेवाहरू सञ्चालनमा छन्।
राजधानी आउन कहाँबाट कति भाडा
उच्च शिक्षा, स्वास्थ्योपचार र विभिन्न प्रशासनिक कामका लागि मात्रै नभएर हालसम्म सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमा मात्रै भएकाले काठमाण्डू आवतजावत गर्ने मानिसहरूको सङ्ख्या ठूलो छ।
त्यस कारण पनि केही हिमाली र जिल्ला बाहेक देशका अधिकांश जिल्ला सदरमुकामहरूबाट राजधानीमा सिधा बस सेवा सञ्चालनमा छन्।
यही वैशाखबाट लागू भएको नयाँ भाडा दर अनुसार राजधानीबाट सबैभन्दा नजिकको जिल्ला सदरमुकाम धुलिखेलबाट काठमाण्डू सम्मको ३० किलोमिटर यात्रा गर्न ८५ रुपैयाँ लाग्छ।
यस्तै झापाको पूर्वी नाका काँकडभिट्टाबाट काठमाण्डूसम्मको ६१० किलोमिटर यात्रा गर्न १,६१७ रुपैयाँ भाडा तोकिएको छ।
तर यो रुटमा साधारण बस नचल्ने भएकाले डिलक्स भनिने आरामदायी बसहरूको भाडा दर यातायात व्यवसायीहरूले १,९०० तोकेका छन्। वातानुकूलित एसी बसहरूमा यात्रा गर्न भने २,३०० भाडा दर तोकिएको छ।