Connect with us
Kapilvast Forest

पोखरामा कांग्रेसबाट मेयरको आकांक्षा राख्नै २५ हजार !

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

 पोखरा – निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको र स्थानीय तहकै चुनावमा ठूलो रकम खर्चिनुपर्ने बहस उठिरहेका बेला पोखरामा आकांक्षा राख्दा पनि ठूलै शुल्क तिनुपर्ने देखिएको छ । नेपाली कांग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकांक्षा राख्नमात्रै पनि २०/२५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

पोखराको मेयर/उपमेयरका आकांक्षीलाई शनिबारदेखि आइतबार ४ बजेसम्मका लागि निवेदन दिन कांग्रेस महानगर समितिले आह्वान गरेको छ । मेयरका आकांक्षीले २५ हजार र उपमेयरको आकांक्षीले २० हजार रुपैयाँ तिरेरमात्र उम्मेदवारी दर्ता गर्नुपर्ने नियम राखिएको छ ।

 

नेपाली कांग्रेस केन्द्रीय कमिटीले २८ चैतमा परिपत्र गर्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारबाट कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा विधानविपरीत कुनै पनि प्रकारको रकम माग नगर्न केन्द्रको निर्देशन छ । तर, पोखरामा मेयर/उपमेयरको आकांक्षीबाट रकम उठाइएको छ । ‘पार्टीले तोकेपछि तिर्नै पर्‍यो । मेयर बन्छु भन्नेले त्यति तिर्न पनि नसक्ने भन्ने कुरा आउँछ फेरि,’ मेयरका लागि निवेदन दिएका वीरेन्द्रनारायण बिजुक्छेले भने ।

कांग्रेस महानगर समितिले भने धेरै आकांक्षी नहुन् भनेर सुरुमै पार्टीको सहयोगका लागि पैसा उठाउन लागिएको सभापति सुरेन्द्र बिजुक्छेले बताए । ‘यो शुल्कभन्दा पनि पार्टीका लागि सहयोग हो । आकांक्षी धेरै नहोउन् भनेर यसो गरिएको हो,’ सभापति बिजुक्छेले भने । केन्द्रले कुनै शुल्क नउठाउन परिपत्र गर्दागर्दै पनि बढी पैसा उठाएर आकांक्षा राख्दादेखि नै उम्मेदवारले खर्च गर्नुपर्ने परिपाटीको विकास गराइएको मेयरका एक आकांक्षीले बताए ।

 

आइतबार ४ बजेसम्म मेयर/उपमेयरका लागि निवेदन लिने र सोमबारसम्म आन्तरिक निर्वाचन गराएर भए पनि ३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने महानगर समिति सचिव गणेशबहादुर थापाले बताए । ‘मेयर/उपमेयरमा २ पुरुष र १ महिलाको नाम सिफारिस गर्ने हो,’ सचिव थापाले भने, ‘सर्वसम्मतिको प्रयास गर्छौं, नसके आन्तरिक चुनावबाटै भए पनि ३ जनाको नाम सिफारिस गर्ने छौं ।’

नेपाली कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी हुँदा सबैको नाम केन्द्रमा सिफारिस गरेको थियो । ३३ जना मेयर र १५ जना उपमेयरको आकांक्षी थिए । ती सबैको नाम केन्द्रमा पठाएपछि मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले टिकट पाएका थिए ।

चैत अन्तिममा काठमाडौं पुगेका कास्कीका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले ‘साझा उम्मेदवार छान्न सक्छौं ?’ भनेर प्रश्न गरेका थिए । कास्कीका नेताहरुले बरु साझा उम्मेदवार पठाउने तर कांग्रेसले नै टिकट पाउनुपर्ने बताएका थिए । तर, आन्तरिक चुनाव गराएर साझा उम्मेदवार पठाउन गाह्रो पर्ने मेयरकै एक आकांक्षीले बताए ।

को-को छन् आकांक्षी ?

कांग्रेसबाट पोखराको मेयर बन्न पूर्व सचिव बाबुराम आचार्यदेखि मन्त्री विन्दुकुमार थापासम्मको चर्चा छ । निवर्तमान पार्टी सभापति कृष्ण केसी, यसअघिकी उपमेयरको प्रत्यासी सरस्वती गुरुङदेखि केही समयदेखि मात्र कांग्रेसमा प्रवेश गरेका गणेशबहादुर भट्टराईसम्म मेयरको टिकट लिने दौडमा छन् ।

कांग्रेसबाट मेयर/उपमेयर बन्ने होडमा कति जनाले आवेदन दिने छन् भन्ने दिउँसो ४ बजेपछिमात्रै टुंगो लाग्ने छ । पोखरामा गठबन्धनबाट कांग्रेसले नै टिकट पाउनुपर्ने माग भइरहेको छ भने केन्द्रलाई दबाब दिने काम पनि नेताहरुले गरिरहेका छन् । तर, पोखरामा नेकपा एकीकृत समाजवादीले टिकट पाउन सक्ने चर्चा पनि छ । यसबाट कांग्रेस नेता, कार्यकर्ता सशंकित छन् ।

पोखरामा नेकपा एमाले सबैभन्दा बलियो पार्टी हो । एमालेबाट उम्मेदवार बन्न १२ र उपमेयरमा ९ जना आकांक्षीले निवेदन दिएपछि चुनाव गराउने मिति तय भइसकेर पनि पार्टीभित्र ध्रुवीकरण हुने भन्दै सबैको नाम केन्द्रमा सिफारिस गरेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।

५६ हजार ४५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले चुनाव जित्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् ।मेयर कांग्रेसलाई सघाएर उपमेयरमा मात्र उम्मेदवारी दिएको माओवादी उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu