Connect with us
Kapilvast Forest

रोल्पामा मिलेन भागबण्डा, सहमतिको ‘च्याप्टर क्लोज’

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

  रोल्पा – सत्तारुढ दलहरु रोल्पामा चुनावी गठबन्धन नहुने निष्कर्षमा पुगेका छन् । जिल्लाका सबै स्थानीय तहमा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेका उनीहरु भागबण्डामा प्रवेश गरेपछि भने सहमति जुट्न सकेन ।

अब जिल्लामा गठबन्धनको ‘च्याप्टर क्लोज’ भएको रिपोर्ट केन्द्रमा पठाएको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले जानकारी दिए ।

 

१० स्थानीय तहमा कांग्रेसको दाबी

१० स्थानीय तह रहेको रोल्पामा नेपाली कांग्रेसले ५ प्रमुख/अध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष दाबी गरेको थियो । ७२ वडामध्ये ३६ वडाको नेतृत्वमा पनि उसको दाबी थियो । ‘जिल्लामा कांग्रेसको संगठन मजबुत हुँदै गएको छ, त्यसकारण हामीले गठबन्धनमा सम्मानजनक हैसियत दाबी गरेका हौं,’ नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले भने ।

 

कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा लुंग्री गाउँपालिका मात्रै जितेको थियो । अहिले उसले आफू एक्लै लडे पनि लुंग्री, रुन्टीगढी र गंगादेव गाउँपालिकामा जित्ने दाबी गरेको छ । उसले माओवादीइतर दलसँग गठवन्धन गरे सुनिल स्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका र माडी गाउँपालिकामा समेत जित हासिल गर्न सकिने आँकलन गरेको छ ।

नेकपा माओवादी केन्द्रले भने नेपाली कांग्रेसले दुई वटा स्थानीय तहमा मात्रै दाबी गर्न न्यायोचित हुने जनाएको छ । कांग्रेसले यसअघि जितेको लुंग्री र प्रमुख प्रतिस्पर्धामा रहेको रुन्टीगढी गरी दुई स्थानीय तहमा दाबी रहनु न्यायोचित हुने नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीको भनाइ छ ।

त्यसबाहेक माओवादी केन्द्रले आफूले जितेका ७ स्थानीय तह र नेकपा एमालेले जितेर आफू मुख्य प्रतिस्पर्धी रहेको त्रिवेणी गाउँपालिकासहित ८ स्थानीय तहमा दाबी गरेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले रोल्पा नगरपालिका सहित सुनिल स्मृति गाउँपालिका, सुनछहारी गाउँपालिका, थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिका जितेको थियो । नेकपा एमालेले त्रिवेणी गाउँपालिकामा जित्दा नेकपा माओवादी केन्द्र मुख्य प्रतिस्पर्धीको रुपमा आएको थियो ।

रोल्पामा एकीकृत समाजवादी र जनमोर्चाको पनि दाबी

नेकपा एकीकृत समाजवादी रोल्पाले ४ स्थानीय तहको नेतृत्वमा दाबी गरेको थियो । तत्कालीन नेकपा एमालेले जितेका त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिका तथा मुख्य प्रतिस्पर्धी रहेको गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा हाम्रो दाबी थियो नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने ।

सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले भने जिल्लाका ४ वटा वडाहरुमा दाबी गरेको छ । आफूहरु पनि गठबन्धनको एक शक्ति भए पनि ठूला दलको बल मिच्याईले सहमति हुन नसकेको राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टले बताए । विष्टका अनुसार सुनिल स्मृती, लुंग्री र रुन्टीगढी गाउँपालिकाका केही वडाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाले दाबी गरेको थियो । रोल्पामा जनता समाजवादी पार्टी (जसपा)को अस्तित्व भने देखिंदैन ।

सहमतिमा कांग्रेस बाधक बनेको आरोप

रोल्पामा गठबन्धन हुन नसक्नुको आरोप अन्य दलका नेताहरुले कांग्रेसलाई लगाएका छन् । ‘दलहरुको तानातानले रोल्पामा गठबन्धनको च्याप्टर करिब–करिब क्लोज भयो,’ नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘यसमा मुख्य बाधक नेपाली कांग्रेस देखियो ।’

कांग्रेसले हैसियतभन्दा बढी दाबी गरेका कारण वातावरण बिथोलियोको उनको भनाइ छ । ‘नेपाली कांग्रेसले आधार र तर्क विनाको दाबी प्रस्तुत गर्दा सहमतिको प्रयासमा विराम लागेको छ,’ घर्तीमगरले भने ।

रोल्पामा पछिल्लो पटक वैशाख २ गते सत्ता गठबन्धनका दलका नेताहरुको बैठक बसेको थियो । सो बैठकबाट जिल्लामा गठबन्धनको प्रयास सफल हुन नसकेको व्यहोरा माथिल्लो निकायमा पठाएको नेपाली कांग्रेस रोल्पा सभापति किशोर आचार्यले जानकारी दिए ।

‘निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी छलफल टुंग्याएका छौं,’ आचार्यले भने, ‘अब प्रदेश र केन्द्रको निर्देशनअनुसार अघि बढ्ने गरी जिल्लामा सहमति प्रयासको च्याप्टर क्लोज भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu