दोस्रो बजारमा थपियो १३ करोड ९८ लाखभन्दा बढी कित्ता धितोपत्र
काठमाडौं- धितोपत्र दोस्रो बजारमा चैत महिनामा मात्र १३ करोड ९८ लाख ३९ हजार ५९४ दशमलव ५५ कित्ता धितोपत्र थपिएको छ । नेप्सेले सार्वजनिक गरेको चैत महिनाको सूचीकृत धितोपत्रको विवरण अनुसार सरकारी ऋणपत्र, कर्पोरेट ऋणपत्र, बोनस तथा हकप्रद शेयर र आईपीओ गरी उल्लेखित संख्यामा धितोपत्र सूचीकृत भएको हो ।
चैत महिनामा दुई करोड ५० लाख कित्ता सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ भने कर्पोरट तर्फको सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।
चैत महिनामा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५० हजार कित्ता आईपीओ र नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर समेत सूचीकृत भएको छ ।
चैत महिनामा सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यो महिना २९ कम्पनीको धितोपत्र सूचीकृत भएकोमा २४ कम्पनीहरुको १० करोड ७९ लाख ७७ हजार २५६ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयरमूल्य माग र आपुर्ति विचको सन्तुलनले निर्धारण गर्ने हुन्छ । चैत महिनामा बजारमा थपिएको धितोपत्रको संख्याको तुलनामा कारोबार भएको धितोपत्रको संख्या कम रहेको छ । यो महिना ९ करोड ६२ लाख ७५ हजार ८९० कित्ता मात्र धितोपत्र खरिद विक्री भएको नेप्सेको तथ्याङ्कले देखाएको छ ।