Connect with us
Kapilvast Forest

राप्रपाले यसपालि उपमहानगर गुमायो, नगरपालिका कमायो

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

विराटनगर-२०७४ को निर्वाचनमा नेपालगन्ज उपमहानगरसहित ५ वटा स्थानीय तहको प्रमुख जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक उपमहानगर गुमाउँदा तीन नगरपालिका भने जिते हासिल गरेको छ।

अहिले पार्टी महामन्त्री रहेका धवलशमशेर राणाले अघिल्लो चुनावमा प्रभावशाली जित दर्ता गरेको बाँकेको नेपालगन्जमा यसपटक राप्रपाले कमजोर प्रदर्शन गरेको छ। नेपालगन्जको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त बिष्टले जित्दा उपमेयरमा जसपाका कमरुद्दिन राई विजयी भएका छन्। एमाले दोस्रो हुँदा उपमहानगरमा राप्रपा तेस्रो मात्रै भयो।

नेपालगन्ज गुमाएर पनि ४ स्थानीय तह जितिसकेको राप्रपाले यसपटक जितको सूचीमा काठमाडौंको शंखरापुर, कपिलवस्तुको शिवराज र झापाको दमक नगरपालिका थपेको छ।

शंखरापुरमा राप्रपाका रमेश नापितले एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठलाई हराउँदा शिवराजमा अजय थापाले एमालेका महादेव पोखरेललाई हराएका छन्। दमकका राम थापाले एमालेकी गीता अधिकारीलाई पराजित गरेका छन्।

झापाको हल्दीबारी गाउँपालिकामा रवीन्द्र लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनाली निर्वाचित भएका छन्। अघिल्लो पटक पनि गाउँपालिका अध्यक्ष जितेका रवीन्द्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ हुन्। हल्दीबारी लिङ्देनकै चुनाव क्षेत्रमा पर्छ। यही क्षेत्र झापा ३ बाट लिङ्देनले २०७४ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएका थिए।

सिटौलाकै गृहनगर भद्रपुरमा पनि राप्रपाले उपमेयर जितेको छ। मेयरमा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गणेश पोखरेलले जित्दा एक्लै लडेको राप्रपाले उपमेयरमा राधा कार्कीलाई जिताएको छ।यसबाहेक नवलपरासीको रामग्राम नगरमा सम्झना चौधरीले उपमेयर जित्दा रुपन्देहीको रोहिणी गाउँपालिकामा शिवकान्ति हरिजन उपाध्यक्षमा निर्वाचित भएकी छन्।

राप्रपाले अघिल्लोपटक जितेका धादिङको रूवीभ्याली गाउँपालिका र झापाको कचनकवल गाउँपालिका भने यसपटक गुमाएको छ। कचनकवलमा त कांग्रेस र एमालेले राप्रपाविरूद्ध तालमेल गरेरै उसलाई हराए। उसैले जितेको झापाको गौरीगन्जमा मतगणना जारी छ। त्यहाँ राप्रपा उम्मेदवार तेस्रो स्थानमा छन्।

अघिल्लो पटक जितेको उपमहानगर हारेको र अघिल्लोपटक जति प्रमुख संख्या पनि नजितिरहेका बेला राप्रपा नेतृत्वले भने यसपटकको चुनावी नतिजाले पार्टीपंक्तिलाई उत्साही बनाएको दाबी गरेको छ।

‘हामीले अपेक्षा गरेअनुसारको संख्या जित्न सकेनौं’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले   भने, ‘तर अहिलेसम्म पाएको सफलताले उत्साही बनाएको छ। हामीले लोकप्रिय मत संख्या बढाएका छौं।’आफ्नो लोकप्रिय मत बढेको दाबी पुष्टी गर्न राप्रपाले यसपटक र अघिल्लोपटक जितेका जनप्रतिनिधिको संख्यालाई अघि सारेको छ।

‘हामीले २०७४ मा देशभर ५ प्रमुख, ७ उपप्रमुख, ५९ वडाध्यक्ष, २१४ वडा सदस्य जितेका थियौं’, शुक्रबार झापाको दमकमा पार्टीका प्रदेश अध्यक्ष राम थापाले पनि जितेपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘यसपटक अहिलेसम्म ४ प्रमुख, ४ उपप्रमुख ६४ वडा र ३७६ जना सदस्य जितेका छौं।’

प्रवक्ता श्रेष्ठले सुनाएको यही तथ्यांकलाई आधार बनाउँदै अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन लगत्तै चुनावमा होमिनुपर्दा पुग्दो तयारी गर्न नपाएको उल्लेख गरे।

‘हामीले महाधिवेशनबाट जिम्मेवारी लिएपछि राम्ररी त्यसलाई सम्हाल्न पनि नपाई चुनावमा होमिनुपरेको थियो’, उनले भने ‘त्यसैले कमजोर तयारीका बाबजुद् यत्तिको सफलताले हामीलाई उत्साही नै बनाएको छ।’

अध्यक्ष लिङ्देनले पूर्व अध्यक्ष कमल थापाको बहिर्गमन र अर्को दलमा भएको सक्रियताले ‘कुनै दुष्प्रभाव नपारेको’ दाबी पनि गरे। लिङ्देनको दाबी मकवानपुरको हेटौंडामा प्रमाणित भएको छ। कमल थापाको गृहजिल्ला मकवानपुरको हेटौंडा उपमहानगरको मेयरमा सत्ता गठबन्धनसँग सुरूआती प्रतिष्पर्धा गर्दै राप्रपाले बलियो उपस्थिति जनाएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको मेयरमा राप्रपा उम्मेदवार मुकुन्दश्याम गिरीले १० हजार बढी मत पाएर तेस्रो भएका छन्।

शुक्रबार दमकको नतिजापछि राप्रपा नेताहरू बढी हर्षित देखिएका छन्। सत्ता गठबन्धनका दलहरूको सहयोगमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर जितेपछि उनीहरूले थापाको जितलाई ‘रणनीतिक सफलता’ भनेर प्रचार पनि गरिरहेका छन्।

अध्यक्ष लिङ्देनदेखि पार्टी प्रवक्ता श्रेष्ठसम्मले दमकको जितलाई ‘रणनीतिक जित’ भनेका छन्।गठबन्धन गरेर जाने हाम्रो नीति थिएन’, राप्रपा अध्यक्ष लिङ्देनले थपे, ‘स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्दा परिणाम राम्रो आयो।’यसपटक प्राप्त ‘लोकप्रिय मतकै आधारमा आउँदो चुनावमा होमिने’ राप्रपा नेताहरूले बताएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu