डलरको भाउ हालसम्मकै उच्च
काठमाडौं -आज (शुक्रबार) डलरको विनिमयदर हालसम्मकै उच्च तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको खरिददर १२४ रुपैयाँ शुन्य ७ पैसा कायम भएको छ भने विक्रीदर १२४ रुपैयाँ ६७ पैसा पुगेको छ । गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा विक्री भएको डलरले त्यसयता तलमाथि हुँदै आएको थियो ।
डलर वैशाख ४ गते १२४ रुपैयाँ ४१ पैसामा विक्री भएर नयाँ रेकर्ड बनाएको हो । गत साता चैत २८ गते हालसम्मकै उच्च मुल्यमा डलर खरिद विक्री भएको थियो । सो दिन १ अमेरिकन डलरको खदिरदर १२३ रुपैयाँ ६५ पैसा र विक्रीदर १२४ रुपैयाँ २५ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज भने नयाँ रेकर्ड बनाएर १ डलर १२ रुपैयाँ ८१ पैसामा खरिद र १२४ रुपैयाँ ४१ पैसामा विक्री भएको छ । फागुन २४ गतेको तुलनामा डलरको भाउ १ रुपैयाँ २३ पैसा बढेको हो ।
डलरको भाउ बढ्दा बस्तु निर्यात गर्ने देशलाई फाइदा पुग्ने गरेपनि नेपालमा भने त्यसको ठिक उल्टो हुने गरेको छ । नेपालमा उत्पादन भएका बस्तु अन्तर्राष्ट्रिय बजारमा सीमित मात्रमा मात्र निर्यात हुने गरेका छन् । नेपालमा खपत हुने बस्तु पनि विदेशबाट नै ल्याउँनु पर्ने बाध्यता छ । यसले विदेशी विनिमय सञ्चितिमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
डलरको भाउ बढ्दा विदेशी पर्यटकले गर्ने खर्चका कारण विदेशी विनिमय सञ्चिति बढ्ने गर्छ । तर, कोभिडका कारण अहिले विदेशी पर्यटक प्रयाप्त मात्रामा घुम्न निस्किएका छैनन् । गत वर्षको तुलनामा नेपाल घुम्न आउँने विदेशी पर्यटकको संख्या बढ्यो भने पनि कोभिड महामारी फैलनुभन्दा पहिले जस्तो अहिले प्रयाप्तमात्रमा पर्यटक नआएको अवस्था छ । कोभिडले गर्दा पर्यटन क्षेत्र अपेक्षित रूपमा चलायमान हुन सकेको छैन् । त्यसैले पनि डलरको भाउ बढ्दा नेपालले पर्यटन क्षेत्रबाट फाइदा लिन सक्ने अवस्था अहिनै छैन् ।
अर्को विदेशमा काम गरिरहेका नेपाली कामदारले पठाउँने रेमिट्यान्सबाट केही आशा गर्न सकिन्छ । तैपनि पछिल्लो समय नेपालीहरूले औपचारिक च्यानलको प्रयोग नगरी अबैध रूपमा रकम पठाएको वा चाँडो पैसा कमाउँने लोभले अन्तै लगानी गरेका कारण अपेक्षित रूपमा रेमिट्यान्स नआएको अवस्था पनि छ । त्यसैले डलरको भाउ बढ्दा नेपालले फाइदा लिइ हाल्ने अवस्था भने छैन् । नेपालको अर्थतन्त्र आयातामा आधारित भएका कारण डलरको भाउ बढ्दा विदेशी विनिमय सञ्चितमा दवाद पर्ने देखिन्छ ।
आज युरो र युके पाउण्ड स्टलिङको भाउ पनि बढेको छ । आज १ युरोको खरिददर १३० रुपैयाँ ६१ पैसा र विक्रीदर १३१ रुपैयाँ २४ पैसा पुगेको छ । त्यसैगरी आज युके पाउण्ड स्टलिङ १ को खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा कायम भएको छ ।