सरकारको नीति तथा कार्यक्रम आज पेस हुने
काठमाडौं -सरकारको नीति तथा कार्यक्रम आज (मंगलबार) संघीय संसद्मा पेस हुँदै छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन ।
बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने छ।सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा दीगो आर्थिक विकास, कोरोना महामारीपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उत्थानका कार्यक्रम समावेश गरिने बताइएको छ ।
सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नेछन्।