काठमाडौंको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी
काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता डंगोल झण्डै तेब्बर मत ल्याएर विजयी भएकी छिन् ।डंगोलले ६८६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीं) का रामेश्वर श्रेष्ठले डंगोलको भन्दा झण्डै एक तिहाइ अर्थात् केबल २३८०५ मत मात्र ल्याउन सफल भए ।
तेस्रो स्थानमा रहेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३६१५ मत पाइन् । त्यस्तै, चौथो स्थानमा आएकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी विनिता मगैयाले १२१४१ मत प्राप्त गरिन् ।
काठमाडौँ महानगरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । यसअघि नै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरतर्फ सुनिता डंगोल विजयी भइसकेका छन् ।यद्यपि काठमाडौंको औपचारिक मत परिणाम भने शुक्रबारमात्र आउने जनाइएको छ ।