तिलोत्तमाका मेयरको पहिलो निर्णय : विद्यार्थीलाई दिवा खाजामा १० रुपैयाँ थप
बुटवल- तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् ।चुनावी घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाउने घोषणा गरेका खाँणले सोही भवनको निवर्तमान मेयर बासुदेव घिमिरेले प्रयोग गरेको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।
उनले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयाँ थपेर दिने पहिलो निर्णय गरेका छन् ।
हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैयाँ अनुदान दिंदै आएको छ । ‘संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयाँ नगरपालिकाको वजेटबाट थपेर २५ पु¥याउने निर्णय गरेका हौं,’ मेयर खाँणले भने, ‘यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्नेछ ।’
शुक्रबार नै उपमेयर जगेश्वरी चौधरीले पनि पदभार ग्रहण गरेकी छन् ।