Connect with us
Kapilvast Forest

वृद्धभत्ता एमालेको ब्राण्ड हो : सांसद पाण्डे

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौँ-पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठिकै भएपनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताएका हुन्। उनले यसरी समान रुपमा तलब वृद्धि गर्नु समाजवाद उन्मुख हुनु हो भन्ने प्रश्न समेत गरे।

उनले भने, ‘तलब बढायौँ १५ प्रतिशत। ठिकै होला कर्मचारीको महंगीको हिसाबले। तर बिगतमा भन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरु र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त? यो समाजवादउन्मुख भयो? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ? कहीँ पनि म त्यो देख्दिनँ। यो न्यायोचित वितरण त भएन होला। बजेटका उद्देश्य माथि नै यत्रो धेरै व्याख्या गर्दाखेरीमा पनि यो चिजप्रति कतैपनि मेरो त्यहाँ सहमती हुन सकेन। मेरो मनले मानेन।’

सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिएपनि एमालेले स्याबासी पाउने बताए। उनले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिएपनि केही फरक नपर्ने बताए। उनले वृद्धभत्ता ५ हजार पुर्‍याएको भएपनि राम्रो हुने तर्क गरे।

उनले भने, ‘वृद्धभत्तालाई ६८ वर्ष झार्‍यौँ नि। वृद्धभत्ता जतिसुकै कुरा गरेपनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ। तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन। वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ। एमालेलाई नै मान्छेले स्याबास् गर्छन्। ताली ठोक्छन्। तर तपाईले आफैले पनि ५ हजार पुर्‍याउँछु भनेर हिजो घोषणापत्रमा बोलेको होइन र? पाँच पुर्‍याएको भए त अझ राम्रो हुन्थ्यो नि। किन गर्नुभएन? त्यसमा बरु गुनासो छ।’

उनले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गरे। गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टीने थिए भन्ने कांग्रेसले चाहेको उनले जिकिर गरे।

उनले भने, ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ। कांग्रेसलाई छिटोभन्दा छिटो झुण्डिएका सबै गलगाड यहाँबाट कहिले यसको पिण्ड चुडाउने भन्ने छ। चुनाव भएदेखि यसको गलगाड छुट्थ्यो कि भन्ने छ। सतिदेवीको अंगपतन भएको जस्तो। चुनावपछि यि सबै कसले हात समातेको छ। कसले खुट्टा समातेको छ। ति सबै त्यहाँबाट छुट्टीएर जाने छन्। कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ। त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु।’

सांसद पाण्डेले ६० लाख परिवारलाई इन्डक्श चुल्हो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको बताए। उनले चुनवी फण्ड उठाउनका लागि इन्डक्शन चुल्हो वितरणको खेलोमेलो गरिएको हो कि भन्ने आशंका व्यक्त गरे। उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गरे।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu