नेपाली मूलका दुई जनाले पाए बेलायती महारानीको ‘प्लाटिनम जुब्ली’पदक
बेलायती महारानी एलिजाबेथको गद्दी आरोहणको ७० वर्षगाँठको अवसरमा बेलायतमा कार्यरत नेपाली मूलका दुई जनाले सम्मान पाएका छन् ।प्लाटिनम जुब्लीको अवसरमा सम्मान पाउनेहरुमा ह्याम्सायरस्थित बजिंस्टोका प्रसारण प्राविधिक इन्द्रप्रसाद लिम्बु र बर्कसायर स्थित फ्रिम्ली हेल्थ एनएचएस ट्रष्टका प्रोफेसनल लिड सुमनराज श्रेष्ठ रहेका छन् ।
ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसमा कार्यरत लिम्बुलाई सैन्य सेवाका लागि मेम्बर अफ अर्डर अफ द ब्रिटिश इम्पाएर (एमबीई)सम्मान दिइएको छ ।यस्तै रोयल कलेज अफ नर्सिङ एण्ड नर्स कन्सलट्यान्ट इन क्रिटिकल केयरका प्रोफेसनल लिड श्रेष्ठलाई क्रिटिकल केयर नर्सिङमा पुर्याएको योगदानका लागि मेम्बर अफ अर्डर अफ द ब्रिटिश इम्पाएर (एमबीई) दिइएको छ ।
४३ वर्षीय श्रेष्ठ २१ वर्षदेखि क्रिटिकल केयर क्षेत्रमा कार्यरत छन् । उनी युनिभर्सिटी अफ ब्राइटनमा क्रिटिकल केयर कोर्सका भिजिटिङ लेक्चरर पनि छन् । इन्द्रप्रसाद लिम्बु भने ब्रिटिश आर्म फोर्सेसको ब्रोडकास्टिङ सर्भिसमा कार्यरत छन् ।
महारानीको प्लाटिनम जुब्लीका अवसरमा १ हजार १३४ जनालाई विभिन्न पदवी दिइएको बेलायतको सरकारी कार्यालयको वेभसाइटमा उल्लेख छ ।