Connect with us
Kapilvast Forest

अन्ततः एमबीबीएस पास भए रामजी राम

२०७९, २० जेष्ठ शुक्रबारमा प्रकाशित

एमबीबीएस उत्तीर्ण रामजी राम बुवासँग

वीरगञ्ज – रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एमबीबीएस उत्तीर्ण गरेका छन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् उनी ।

वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेपछि बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा बुवासँगैको फोटोसहित स्ट्याटस लेखेका छन्, ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ ।’

 

आफूलाई एमबीबीएस उत्तीर्ण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिंदै उनले परीक्षा अझै बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘परीक्षाहरू सकिएको छैन, किनकी एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेसा लिइरहेको हुन्छ । जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरू कहिल्यै सकिन्न । जीवनका बाँकी परीक्षाहरूमा पनि यहाँहरूको साथ, हौसला र सहयोग मिलोस् भन्ने कामना गर्दछु ।’ दलित समुदायबाट प्रतिनिधित्व गर्ने उनको सफलतामा खुसी हुँदै सामाजिक सञ्जालमा धेरै जनाले बधाई दिएका छन् ।

पढ्ने बेला पाएको सास्ती

एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो ।

यो पनि पढ्नुहोस
एमबीबीएस पढ्दा गरीबका छोराले पाएको दुःख
चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदि लिन नपाइने उल्लेख छ । यो व्यवस्थालाई तत्कालीन मन्त्रिपरिषदको सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको छ ।

चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो ।

चौथो वर्षमा समेत कलेजले वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल शुल्क ५५ हजार ४ सय २१ रुपैयाँ, खाना खर्च २ लाख १० हजार ३ सय १९ रुपैयाँ र इन्टरनेटको ९ हजार ८ सय रुपैयाँ तिर्न बाँकी देखाएको थियो । उनले आफूले अतिरिक्त शुल्क नतिर्ने अडान राखेपछि कलेजले फारम भर्न रोक लगाएको थियो । अतिरिक्त पैसा नतिरेकै कारण उनलाई कलेजले परीक्षा हलबाट बाहिर समेत निकालिदिएको थियो ।

सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । सोही छात्रवृत्ति पाएर रामजी नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए ।

कलेजले कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत आवाज उठाउँदै आएका थिए ।

उनले कठिन परिस्थितिलाई पार गरेर एमबीबीएस उत्तीर्ण हुन सफल भएकोमा खुशी व्यक्त गरे । ‘धेरै बाधा आयो, परीक्षा दिँदादिँदै पनि कठिन परिस्थिति आयो । नीति मिल्दा मिल्दै पनि नियत विग्रेका कारणले कष्टकर भयो,’ उनले भने, ‘सकिने होला कि भन्ने खालको परिस्थिति पनि बन्थ्यो । तर एक न एक दिन पास हुन्छु भन्ने विश्वास थियो, त्यसैले काम गर्यो । अप्ठेरो परेको बेला हिम्मत र साथ दिने मानिसहरु पनि भेटिए ।’

आमा–बुवालाई छोरोले के पढ्दैछ, कसरी पढ्दैछ समेत थाहा नभएको अवस्थालाई टाढाबाट हेर्दा आफैंलाई अजिब लागे पनि दुःख कठिन परिस्थिति सधैं रहँदैन, आत्तिनु हुँदैन भने सिकाइ मिलेको उनको भनाइ छ ।

‘कागजी परीक्षा सकियो, चिकित्सक जीवनको मुख्य परीक्षा अब शुरु हुन्छ । हरेक पल परीक्षाहरु आउँदैछ । पढेर मात्रै हैन अब परेर जान्नुपर्छ,’ उनले भने ‘त्यसका लागि मनस्थिति तयार गरिरहेको छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu