फेको मेशिन खरिदको सामाजिक परीक्षण सम्पन्न
कपिलबस्तु- कपिलवस्तुको एक आँखा अस्पताललाई लुम्बिनी प्रदेश सरकार,स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय,बुटवलले मोतिबिन्दुको अत्याधुनिक प्रविधि अथवा कम्प्युटर प्रविधीबाट गरिने फेको अप्रेशन गर्नको लागि प्रयोग गरिने अत्याधुनिक मेशिन खरिदको लागि रु. १९ लाख ४० हजार अनुदान सहयोग प्रदान गरेको छ ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको नाममा उक्त रकम बिनियोजन गरिएको हो । स्वास्थ्य निर्देशनालयले आर्थिक बर्ष २०७८÷०७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक आँखा अस्पतालहरुको सबलीकरण र सहजीकरणका लागि प्रस्तावमा आधारित पँुजगित अनुदान कार्यक्रम अन्तर्गत यस्तो सहयोग प्रदान गरेको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनु भएको छ ।
निर्देशनालयको रु. १९ लाख ४० हजार अनुदान सहयोग र अस्पतालको १५ लाख ३८ हजार २ सय ५३ गरी जम्मा ३४ लाख ७८ हजार २ सय ५३ मा फेको मेशिन खरिद गरिएको हो । छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजमा फेको मेशिन खरिद सँगसँगै सामाजिक परीक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । सामाजिक परीक्षण कार्यक्रम विभिन्न चरणमा गरिएको थियो ।
पहिलो चरणमा आँखा अस्पतालहरुको सेवा सवलिकरण तथा सहजिकरणको लागि चिकित्सकिय औजार उपकरण खरिद गर्न स्वास्थ्य निर्देशनालय, प्रदेश नं. ५ बाट प्रदान गरिने पुँजिगत अनुदान र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको लागत सहभागीतामा मेशिन खरिदको प्रकृयाको बारेमा जानकारी गराइएको थियो ।
मेसिन खरिद संगै हुने सेवा सहजता र अस्पताललाई हुने फाइदाहरुको बारेमा समेत जानकारी गराउने काम भएको थियो । दोस्रो चरणमा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले आँखा अस्पतालहरुको सेवा सवलिकरण तथा सहजिकरणको लागि चिकित्सकिय औजार उपकरण खरिद गर्न प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयबाट प्रदान गरिने पुँजिगत अनुदान १९ लाख ४० हजार र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको लागत सहभागीता २० प्रतिशत वा सो भन्दा बढिको लागत सहभागीतामा टेण्डर आह्वान गरि बिभिन्न चरणमा भएका खरिद प्रकृयाको बारेमा जानकारी गराउनु भयो साथै नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल ले फेको मेशिनले मोतियाबिन्दुको शल्यक्रिया गर्दा हुने सहजता र यसले के कसरी मोतियाबिन्दुको शल्यक्रिया गरिन्छ भन्ने बारेमा सहभागीहरुलाई भिडियो मार्फत जानकारी गराउनु भएको थियो भने तेस्रो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका खरिद तथा गुणस्तर निर्धारण समितीका अध्यक्ष सुरेन्द्रबहादुर खड्काको अध्यक्षता,कृष्णनगर नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक आरतीदेबी चौधरी को प्रमुख आतिथ्यता तथा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति कृष्णकुमार गिरी र कृष्णनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शतिस कुमार हरिजनको विशिष्ट आतिथ्यतामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी गिरीले छन्द(कालेबाबु) नारायणी आँखा अस्पताललाई थप विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न आफुहरु लागेको बताउनु भयो । उहाँले यस आँखा अस्पतालहरुलाई भौतिक,मानवीय तथा मेशिन तथा औजार उपकरणले सुबिधा सम्पन्न र साधानस्रोतयूक्त बनाउन आफुहरु लागेको बताउनुभयो ।
नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका गिरीले अस्पतालको विकासमा सहयोग गर्ने प्रदेश सरकार र स्थानीय सरकार लगायत सबैलाई धन्यवाद दिनु भयो । त्यस्तै अर्का विशिष्ट अतिथी कृष्णनगर नगरपालिका वडा नं. ९ का नवनिर्वाचित वडा अध्यक्ष शतीस कुमार हरिजनले बहादुरगंज आँखा अस्पताल यस क्षेत्रकै गहनाको रुपमा रहेकोले अस्पतालको विकासका लागि सबै किसिमका सहयोगहरु आफुहरुबाट मिल्ने बताउनुभएको थियो ।
उहाँले यस क्षेत्रको नुमना योग्य अस्पताल बनाउनमा वडा तथा नगरपालिकाले सहयोग गर्ने बताउदै अस्पतालले दिने सेवाहरु र अन्य सबै गतिबिधिहरु पारदर्शी रुपमा अगाडी बढिरहेको बताउनुभयो । यसमा सबैले गर्व गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रम कार्यक्रम सूचना अधिकारी बालाराम खड्काले संचालन गर्नु भएको थियो ।