Connect with us
Kapilvast Forest

चाकडी संस्कार कतिसम्म मौलाएको छ भने…

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

सुमित्रा लुइटेल-

काठमाडौं । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तीय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी नै गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुर्‍यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ ।

चाकडी संस्कार कतिसम्म मौलाएको छ भने कुनै पनि कामको लागि विधि वा प्रक्रिया पुर्‍याएर पनि चाकडी गरिएन भने आफ्नो काम फत्ते हुँदैन । चाकडी गर्नैपर्छ ।

मान्छेले गर्ने व्यवहार कतै त कतैबाट सिकेको हुन्छ । समाजबाट तथा परिवारबाट पनि मान्छेमा चाकडी प्रवृत्तिको विकास हुन्छ । मैले कसैको चाकडी गरे वा उसलाई फुर्काए भने मेरो काम बन्छ भन्ने मनोविज्ञानले मानिसलाई ‘गाइड’ गरिरहेको हुन्छ । जसले गर्दा मानिसहरू चाकडी गर्ने प्रवृत्तितिर आकषिर्त हुने मनोविद् विनोद पौडेल बताउँछन् ।

‘एउटा कामको लागि चाकडी गर्‍यो र त्यो काम सफल भयो भने अर्को कामको लागि पनि चाकडी गर्न मानिस प्रोत्साहित हुन्छ । मेहनत भन्दा त चाकडी सजिलो रहेछ भन्ने सोच्न थाल्छ,’ उनी भन्छन् ।

कुनै गल्ती गर्‍यो भने मन्दिरमा गएर देवतालाई केही चढायो भने गल्ती माफ हुन्छ भनेर भगवानको समेत चाकडी गर्ने प्रवृत्ति हाम्रो संस्कृतिमा नै छ । त्यसैले मान्छेलाई पनि नगद जिन्सी दिएर वा चाकडी गरेर फकाउने प्रवृत्ति मानिसमा विकास भएको पौडेलले बताए ।

‘अल्छीपनले मानिसहरूमा चाकडी प्रवृत्तिको विकास गर्छ । मेहनत नगरी लक्ष्यमा पुग्नका लागि चाकडीको माध्यमबाट सजिलो हुन्छ भन्ने कुराले पनि मानिसलाई प्रेरित गरिरहेको हुन्छ,’ पौडेल भन्छन्, ‘जसले गर्दा मनोवैज्ञानिक रूपमा सानो सानो कुरामा पनि चाकडी गर्ने, गुलामी गर्ने, चिप्लो घस्ने त्यो प्रकारको व्यवहार मानिसमा विकास हुँदै जान्छ ।’

चाकडीकै कारण नेपालमा योग्यता नभएका व्यक्ति समेत मन्त्री बनिरहेका छन् । नेतृत्वलाई चाकडी गर्ने र पद हत्याउने प्रवृत्ति एकदमै मौलाएको प्रा.डा राजेश गौतम बताउँछन्
कुनै व्यक्तिले केही कुरामा गल्ती गर्‍यो भने त्यसलाई ढाकछोप गर्न मद्दत गर्ने जुन निकाय र व्यक्ति हुन्छन् उनीहरूले यो चाकडीपनलाई प्रोत्साहन गरिरहेका हुन्छन् । चाकडी गर्‍यो भने यो त मेरो मान्छे हो भनेर उसले गल्ती गरेको होइन भनेर ढाकछोप गर्ने भएकाले उनीहरूको चाकडी गर्न ती मानिस बाध्य पनि हुन्छन् ।

कुनै व्यक्तिमा क्षमता छैन भने कुनै पनि पद प्राप्त गर्न उसले चाकडी गर्ने र रकम दिने गर्छन् । यसरी चाकडी गर्दा पद प्रतिष्ठा प्राप्त भयो भने उनीहरुमा चाकडी गर्ने प्रवृत्तिको विकास हुन्छ ।

कुनै पनि व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न चाकडी प्रवृत्ति अपनाउने गर्छ । यो प्रवृत्तिले चाकडी गर्ने व्यक्तिहरूको मात्र भलो हुन्छ, उनीहरूको मात्र प्रगति हुन्छ र उनीहरू नै उच्च पदमा पुग्छन् । चाकडी नगर्ने, आफ्नो कर्ममा विश्वास गर्ने व्यक्तिलाई भने अवसरबाट बञ्चित गराइन्छ । समाजशास्त्री मञ्जु सिग्देल भन्छिन्, ‘चाकडी गर्ने प्रवृत्तिको यसरी नै विकास हुँदै जाने हो भने कुनै काम पनि चाकडीबिना नबन्ने अवस्था आउँछ । जसले चाकडी प्रवृत्ति नभएका कर्मनिष्ठ व्यक्तिहरूमा पनि यो प्रवृत्तिको विकास हुन्छ ।’

अस्पताल, विद्यालय र सरकारी कार्यालय जहाँ पनि आफ्नो मान्छे छ भने मात्र छिटो काम बन्ने र नभए नहुने प्रवृत्ति बढ्दो छ । जसले समाज र नीति नियम सबै बिग्रँदै गएको सिग्देलको तर्क छ ।

‘धेरै लामो समयदेखि यो प्रवृत्ति हाम्रो समाजमा चल्दै आएको हुनाले यसले निरन्तरता पाइरहेको छ । पहिलेको तुलनामा अहिले धेरै व्यक्ति पढेलेखेका छन् । र, यो प्रवृत्ति गलत हो भनेर आवाज उठाउँछन्,’ सिग्देल भन्छिन्, ‘तर त्यहीं पढेलेखेका व्यक्तिहरूले पनि कुरामा एउटा र व्यवहारमा अर्कै गर्छन् ।’

अहिले २१ औं शताब्दीको युग हो र अब यो चाकडी प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्नेहरु नै आफ्नो काम बनाउन पैसा खुवाउन पछि नपर्ने उनी बताउँछिन् । चाकडी गर्ने प्रवृत्ति समाजबाट नै मानिसहरूले सिकिरहेका छन् । राजनीतिमा यो कुरा झन् धेरै लागू भएको छ ।

सिग्देल भन्छिन्, ‘यो प्रवृत्तिलाई समाजबाट हटाउन पछिल्लो समय केही युवाहरू राजनीतिमा आएका छन् । उदाहरणको लागि हामी बालेन साहलाई लिन सक्छौं । कसैको चाकडी नगरी आफ्नो क्षमतामा उनी अगाडि बढेका छन् । बालेनको जस्तो मानसिकता अन्य युवामा पनि आउने हो भने यो प्रवृत्ति बिस्तारै हटेर जान्छ ।’

चाकडी गर्ने प्रवृत्तिले राम्रो काम गर्ने मानिस पछाडि पर्ने र क्षमता नभएका व्यक्ति माथि पुग्ने गरेको राजनीतिक विश्लेषक प्रा. डा. राजेश गौतम बताउँछन् । ‘चाकडी त घर परिवारमा र समाजमा पनि हुन्छ । तर समाजमा अहिले व्याप्त रूपमा हुने गरेको चाहिं राजनीतिक चाकडी नै बढी देखिएको छ,’ उनी भन्छन् ।

चाकडीकै कारण नेपालमा योग्यता नभएका व्यक्ति समेत मन्त्री बनिरहेका छन् । नेतृत्वलाई चाकडी गर्ने र पद हत्याउने प्रवृत्ति एकदमै मौलाएको गौतम बताउँछन् ।

‘समाजमा पनि यो प्रवृत्तिले जरा गाडेको छ । जसले गर्दा समाजमा पनि पढेलेखेको व्यक्तिभन्दा चाकडी गरेर राजनीतिक रूपमा माथि पुगेको व्यक्तिलाई बढी इज्जत दिइन्छ,’ उनी भन्छन् ।

जबसम्म राजनीतिक दलले चाकडी गर्ने व्यक्तिलाई महत्व दिइरहन्छन्, तबसम्म यो प्रवृत्तिको अन्त्य नहुने मानवशास्त्री डा. डम्बर चेम्जोङ बताउँछन् ।

‘चाकडी प्रवृत्ति सामन्तवादी समाजबाट सुरु भएको हो । अहिले हामी पुँजीवादी समाजमा छौं । तर सामन्तकलामा राजा महाराजाहरूलाई गर्ने चाकडी र त्यो सोचको अवशेष अहिलेको नयाँ लोकतान्त्रिक व्यवस्थामा पनि बाँकी छ,’ उनी भन्छन्, ‘यो प्रवृत्ति समाजबाट हट्न अझै समय लाग्न सक्छ ।’
सभार: अनलाइन खबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu