ठमेलका पर्यटन व्यवसायीलाई लाग्यो चुनाव
काठमाडौ- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ ।
पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व निकै आकर्षण मानिन्छ ।
सोही संस्थाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षसहितका पदाधिकारी सदस्यका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
यही असार ३२ गते हुने परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी भविश्वर शर्माले उम्मेदवारी दिएका छन् भने अर्का व्यवसायी रामचन्द्र अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यी दुवै उम्मेदवारले पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो
उहाँले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरेका छन।
आफू अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने अध्यक्ष पदका उम्मेदवार शर्माको प्रतिबद्धता छ ।