नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्षबीच छलफल
नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका हुन।
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी गर्नु भएको हो । प्रचण्डसँगको भेटपछि छलफल सकारात्मक भएको खाणले बताए ।
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको हो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको थियो ।
पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट बार्ता गर्नु भएका छन् । आइतबार साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका हुन ।
सरकारले संसदमा प्रस्तुत गर्ने नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउने छन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको हो ।