देउवालाई कांग्रेस नेताको सुझाव : देशभरका जनप्रतिनिधिको सुविधा कटौती गरौं
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न सुझाव गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुृर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।
सरकारले प्रदेश सरकारहरुसँग समन्वय गरी हाम्रो आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौती गरौं उनले बताए ।
उनले राजनीतिक सहमति गरी डा. डिल्लीराज खनाल नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि सुझाव दिएका छन् । सरकारले २०७५ सालमा खनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन भएको थियो ।
उक्त समितिले सरकारको खर्च घटाउनका लागि सरकारका विभिन्न निकाय खारेज गर्नेदेखि मन्त्रालयको संख्या घटाउनेसम्मको सुझाव दिएको थियो ।
नेता पोखरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफ्नै आर्थिक नीतिका आधारमा मुलुक चलाउनुपर्ने भन्नु भएको थियो ।
गठबन्धन दलहरुको फिरन्ते आर्थिक नीतिको पछाडि नलागीसमयमै कांग्रेसले देश र जनताको दीर्घकालीन हितका लागि फजुल खर्च रोकौं, बजेटमा समयमा उपयोगमुलक तरिकाले खर्च गरौं उनले भने ।
सरकारले महंगा हतियार र हेलिकप्टर खरिद गर्न लागेको विषयमा पनि पोखरेलले प्रधानमन्त्रीको जवाफ मागेका छन् । विदेशी मुद्रा सञ्चितीको यस्तो अवस्थामा के अहिले यस्ता सामग्रीहरु खरिद गर्ने बेला हो ? सरकारको यस्तो गतिविधिले मुलुकलाई श्रीलंकाकै बाटोमा लाने पोखरेलले बताउनु भयो ।