Connect with us
Kapilvast Forest

अलग भए उपेन्द्र र बाबुराम

२०७९, २९ असार बुधबारमा प्रकाशित

काठमाडौं – पार्टी एकीकरण गरेको तीन वर्षपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अलग भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो, जुन पछिल्लो समय जनता समाजवादी पार्टीको नाममा क्रियाशील छ ।

तर बुधबार भट्टराईले आफ्नो नेतृत्वमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारिक बैठक सुरु गरेका छन् भने अध्यक्ष यादव पक्ष वीरगञ्जमा भेला भएका छन् । बुधबार कार्यकारिणी समितिको बैठक गरेको यादव पक्षको केन्द्रीय समितिको बैठक भने भोलि र पर्सि गरी दुई दिन बस्ने तय भएको छ ।

निस्कासन गर्ने तयारी संस्थापन पक्षको तयारी

वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ३२ मध्ये १९ जना सहभागी भएको नेताहरुको दाबी छ । बैठकले संघीय परिषद अध्यक्ष डा. भट्टराईले बोलाएको बैठक विधान विपरीत ठहर गरेको छ र केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठनलाई केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको छ ।

एक नेताका अनुसार भट्टराई पक्षको भेलामा गएका नेताहरुलाई हटाएर केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गर्न लागिएको हो । उनका अनुसार भट्टराई पक्षको बैठकमा जम्मा ७० जना केन्द्रीय सदस्य भएका छन् भने ६ जना कार्यकारिणी सदस्य । उनीहरुलाई अब पार्टी कमिटीबाट हटाइने छ ।

कार्यकारीणी समिति सदस्य एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारी पनि भट्टराई पक्षले विधान विपरीत गतिविधि गरेको बताए । ‘संघीय परिषद अध्यक्षले पनि विधान विपरीत गएर काम गर्नुहुन्छ भने केन्द्रीय समितिले निर्णय गर्छ’ अधिकारीले भने, ‘यसलाई पार्टी विभाजन नभनौं, केही अराजक र अस्थिर मनस्थितिका व्यक्तिहरुबाट त्यस्ता क्रियाकलाप भएको छ । त्यसले पार्टीलाई विभाजन गर्दैन, केही मानिसहरु आफैं विभाजित भएर जान्छन् ।’

अधिकारीका अनुसार केन्द्रीय समिति बैठकका अरु एजेण्डामा संघीय निर्वाचनको तयारी र चुनावी तालमेल, संसदीय बोर्ड गठन गर्ने, पार्टी विधान संशोधन पनि छन् । ‘स्थानीय तहको निर्वाचनमा पार्टीमा देखिएका घात अन्तर्घातका विषय, पार्टीविरुद्ध मतदान गर्ने, पार्टीमा रही रही अर्को पार्टीबाट चुनाव लड्ने जस्ता पार्टी विरोधी गतिविधिमा संलग्न भएकालाई के कसरी कारबाही गर्ने भन्ने पनि बैठकको एजेण्डा छ,’ कार्यालय प्रमुख अधिकारीले भने ।

भट्टराई समूहको बहस : नयाँ पार्टी कि एकता

काठमाडौंमा विस्तारित बैठक गरेको भट्टराई पक्षले भने ४० प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरेको छ । निर्वाचन आयोगमा यो दाबी पुष्टि गर्न सक्ने नसक्ने अन्यौलमा रहेको यो समूहले जसपाको आधिकारिकता आफूले नपाउने स्वीकार गरेको छ ।

र, नयाँ वैकल्पिक राजनीतिक शक्ति बनाउने कि विचार मिल्नेहरुसँग धु्रविकरण गर्ने भन्ने बहस गर्ने भएको छ । ‘हामीसँग जसपाको बैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ,’ विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले भनेका छन्, ‘पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । छलफलका लागि हाम्रा सामु दुई बिकल्प हुन सक्दछन् ।’

एक– नयाँ ढंगले बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने ।

दुई–विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसँग सहकार्य, ध्रुविकरण, एकीकरण गर्दै जाने ।

भोलि बुधबारसम्म चल्ने बैठकले जुन विकल्प रोज्छ, त्यसका आधारमा पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने र वैधानिकता दिने प्रक्रिया पूरा गर्ने भट्टराईले बताएका छन् ।

बैठकमा जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाए । पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको भन्दै उनले अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने बताए ।

‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु, भट्टराईले भने, तपाईले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu