बसन्त चौधरीलाई ‘छिन्नलता गीत पुरस्कार’
काठमाडौ- बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाउनुभएको छ ।
वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो ।
प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभयो ।
गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्नु हुन्छ।नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरीे आठवटा एल्बम ल्याउनुभएको छ ।
२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा हुनुहुन्छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउनु भयाृभने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलले प्राप्त गर्नुभयो ।
यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनुभयो ।