विकास निर्माणलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ ।मङ्गलबार ६० औं इन्जिनियर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले सरोकारवालाबीच समन्वय कायम गरी विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभएको हो ।
उहाँले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यकतालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास निर्माणका लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियर नै हुन् ।
सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यावसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ ।
देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत् आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारको विकासको आवश्यकता हुने प्रधानमन्त्री देउवाले स्पष्ट पार्नुभयो ।
देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत् आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुन्छ । त्यस्ता संरचनालाई गुणस्तरीय तरिकाले निर्माण गर्नु आजको आवश्यकता हो प्रधानमन्त्री देउवाले थप्दै भन्नुभयो ।
पूर्वाधार विकासको माध्यामबाट देशलाई समृद्ध बनाउने काममा इन्जिनियर आगामी दिनमा थप क्रियाशील हुन जरुरी छ । सबै सरोकारवालाबीच समन्वय कायम गरी मुलुकमा योजनाबद्ध तरिकाले गुणस्तरीय विकास, निर्माणको काम अगाडि बढाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।