Connect with us
Kapilvast Forest

बिजलपुरासम्म रेलसेवा सञ्चालनकाे तयारी

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

जनकपुर- सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । सम्भवतः साउन ३० गतेदेखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको बताएको छ ।

राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवा जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब बिजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताउनु भयो ।

कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनको लागि लिक (पटरी) होल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, उहाँले भन्नुभयो, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल–भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी सुरु भईरहेको छ ।

तर थप सेवा उद्घाटनको मिति टुङ्गो लागिसकेको छैन । यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकोले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको उहाँले उहाँले जानकारी दिनुभयो ।

भारतीय इर्कन कम्पनीले करिब तीन करोड नेपाली रुपियाँ लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको उहाँले जानकारी दिए ।

यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलो मिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उहाँले बताउनुभयो । नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाको लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ, महाप्रबन्धक झाले भने ।

यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ । सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो ।

भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेसनल कम्पनीले सन् २०११ माघ महिनादेखि निर्माण थालिएको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभयो ।

त्यस दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ । बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ ।

यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भंगहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भंगहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना अन्तर्गत सो कार्य भएको हो ।

बिजलपुरासम्म रेल सेवा विस्तारको लागि महाप्रबन्धको नेतृत्वमा सशस्त्र प्रहरी प्रमुखहरुसहित टोलीले निरीक्षण गरेको थाहा पाएपछि त्यस भेगका लोहारपट्टी, बलवा, भङ्गाहा, पिपरा क्षेत्रका स्थानीयहरु निकै खुशी भएका छन ।

वर्षौदेखि अवरुद्ध रेल सेवा सञ्चालनको सपना पूरा हुने आशा पलाएको बलवा–१० धमौराका किसान हासिम कवारीले बताउनुभयो । उक्त क्षेत्रका कृषि उपज सोझै भारतीय बजार, जनकपुरसम्म पु¥याउन सकिने आश जागेको उहाँले बताउनुभयो ।

भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सुुरु गरिएको हो । विसं १९९४ जुद्धशम्शेरका पालामा सुरुभएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो ।

सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिएको थियो तर राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ ।

नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो ।अहिले जयनगर–जनकपुरसम्म सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो ।

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्छन् । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । अब यहीँ रेल जयनगरदेखि बिजलपुरासम्म गुडने भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu