सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ
काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सहकारीका पूर्व अध्यक्ष इच्छाराजकी पत्नी सिर्जना शाक्यलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोलो जानकारी दिनुभयो ।
सहकारीमा डिपोजीट गरेको पाँच अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा पूर्व अध्यक्ष तामाङ र केवलाल श्रेष्ठ पुर्पक्षको लागी कारागारमा थुनामा छन् । २०७८ मंसिर १७ मा ब्यूरोले संगठित रुपमा ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
सिर्जना शाक्यको नाममा काठमाडौं जिल्ला अदालतले २०७८ पुसमा पक्राउ पुर्जी जारी गरेपछि उनि फरार थिइन् । साउन ३ मा उनलाई रामशाहपथबाट पक्राउ गरिएको एसपी महतोले बताए । ब्यूरोका अनुसार सो सहकारीबाट १५३० जना ठगिएका छन् ।