गाँजा बिक्री गरेको आरोपमा दुई जना पक्राउ
रूपन्देहीको सालझण्डी प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित सैनामैनाका दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ परेकाहरूले स्थानीय युवाहरूलाई गाँजा बेचबिखन गर्ने गरेको प्रहरीको आरोप छ।
ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले सैनामैनाको झिमपुरका रोशन थारुको घरमा लुकाइराखेको अवस्थामा १ किलो बढी र सैनामैना बालापुर बस्ने कमल कुमाललाई २ सय ४ ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
साउन ४ गते दिउँसो सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने बर्ष २७ को रोशन थारुले आफ्नै घरमा अवैध लागुऔषध गाँजा लुकाईछिपाई राखी बिक्री वितरण गर्ने गरेको सूचना पाएपछि उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनु भएको छ ।
त्यसैगरी, सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालले आफ्नै घरमा अवैध लागुऔषध गाँजा लुकाईछिपाई राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा २०४ ग्राम सुकेको अवस्थामा गाँजा जस्तो चिजवस्तु फेला परेको सालझण्डी प्रहरीले जनाएको छ।
पक्राउ परेका रोशन थारु र कमल कुमाललाई लागुऔषध ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको हो ।