Connect with us
Kapilvast Forest

पोखरीजस्तो भयो बुटवलको मुख्य सडक

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

बुटवल- ३० असारमै निर्माण पूरा हुनुपर्ने बुटवलको मुख्य बजार क्षेत्रको सडकका खाल्डाखुल्डीमा पानी जमेर पोखरीजस्तो बनेको छ ।
राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक विस्तार निर्माण व्यवसायीले बेलैमा नसकेका कारण वर्षा हुनेवित्तिकै सडक वारपार गर्न कठिन हुने गरेको छ ।

सडकको सबैभन्दा दुर्दशा लुम्बिनी प्रादेशिक अस्पतालको मुख्य गेट अगाडि भएको छ । जहाँ अलि ठूलो वर्षा हुने वित्तिकै सडक तालजस्तो बन्छ ।
यस्तै पुष्पलालचोक, ट्राफिकचोक, आदर्शनगर चोक, गोलपार्क र चौराहा पनि ठूला ठूला खाल्डाका कारण मोटरसाइकलमा यात्रा गर्नेहरु दुर्घटनाको जोखिममा पर्छन् । सडक जीर्ण हुँदा अस्पताल आउने बिरामी पनि प्रभावित भएका छन् ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।

तर अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिएको छ ।ठेक्का पाएको कन्चनजंघा÷बिरुवा जेभीका व्यवसायी सुवित श्रेष्ठलाई रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको जोडबलमा २०७८ असार १८ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिवद्धता गराइएको थियो । तर त्यसपछि पनि ठेकेदारले गतिका साथ नियमित काम नगर्दा सडकको दुर्दशा भएको हो ।

असार मसान्तसम्म करिब २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले बताए । सडक निर्माण पूरा नहुंदा वर्षायाममा हिलाम्य र हिउदमा धुलाम्य भएर सडक प्रयोगकर्ताले सास्ती ब्यहोर्न वाध्य छन् ।

सडक भत्केका कारण व्यवसायीहरु पनि मारमा परेका उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे बताउँछन् ।४७ करोड २७ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएकामा पछि लागत बढाएर ५३ करोड ९८ लाख रुपैयाँमा सम्झौता गरिएको छ ।

दोस्रोपटक थपिएको म्याद पनि सकिएपछि पुनः म्याद थपका लागि निर्माण व्यवसायीले चलखेल गरिरहेका छन् । केही राजनीतिक दल र नागरिक समाजले उक्त कम्पनीको ठेक्का रद्द गरी कारवाही गर्नुपर्ने माग गरिरहेका छन् ।

ठेकेदार कम्पनीले करिब १४ करोड रुपैयाँ भुक्तानी लगिसकेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu