Connect with us
Kapilvast Forest

भालुले हैरान पार्‍यो हिमाली भेगका किसानलाई

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

सोलुखुम्बु- लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी स–साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरूको बाध्यता आई परेको छ ।

मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो।

भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका कृषक चेतबहादुर मगरले जानकारी गर्नुभयो ।

भालु खेद्न रातभर बारीमा नै बस्नुपर्छ एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ उहाँले भन्नुभयो। रातभरि भालु धपाउन बारीमा बसेपछि विद्यालयमा आएका विद्यार्थी पनि निदाउने शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको पिके माध्यमिक विद्यालयका शिक्षक विवेक कार्कीले बताए ।

जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दुलगायतका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवनसमेत त्रसित बनेको छ। बर्सेनि भालुको आक्रमणबाट कृषकहरू सख्त घाइते तथा केहीको मृत्यु भएका घटनाले समेत उनीहरू त्रसित बनेका हुन्। बेनीको फेरा आसपासका हरेक किसानले बारीमा छाप्रो बनाइ टिन ठटाएर भालु लखेट्न थालेका छन्।

हामी सुत्न पाएका छैनौँ, रातभर भालुको ड्युटी गर्दा ठीक हुन्छ, फेरि कतिबेला आएर खाइहाल्छ, फेराका कृषक दावा शेर्पाले गुनासो गर्नुभयो। भालु मार्दा कानुन लाग्छ भन्छन्, नमार्दा यसले त वर्षभरिको कमाइ भुसुक्कै पार्ने भयो, रोसीका कृषक पूर्ण तामाङले भन्नुभयो। भालुको आतङ्क बढेपछि राति घरबाहिर निस्कनसमेत डर लाग्ने स्थानीय बताउँछन्।

तामाखानी क्षेत्रमा मात्र पाँचवटा भन्दा बढी भालु रहेको स्थानीयको भनाइ छ। भालु एउटैले बारीमा पस्न पायो भने सबै मकै खाने र माड्ने गरेर स्वाहा पार्ने गर्दछ। जिल्लाका रिङमु, फेरा र जुनबँेशीलगायतका क्षेत्रमा पनि भालुले सताएको कृषकहरूको गुनासो छ।

यता जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले भने कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु-याउन नपाइने बताउँदै आएका छन्। अन्य वैकल्पिक उपायहरू अपनाएर नै बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधानसमेत नभएको जिल्ला वन कार्यालयले जनाएको छ।

मानिसलाई नै क्षति पु-याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरेबमोजिम घाइतेलाई ५० हजार र मृत्यु भएमा डेढ लाखसम्म क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था छ।

वडा कार्यालयमा भालुलगायत जङ्गली जनावर नियन्त्रण गरी पाउँ भन्ने निवेदनको आउने गरेको सोलुदूधकुण्ड नगरपालिका–३ का दर्जनौँ निवेदन दर्ता भएको वडाध्यक्ष लाक्पागेलु शेर्पाले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu