मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने
लुम्बिनी – लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।
बुधबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।
कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ ।
बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा बिशेष ध्यान दिने बताए ।
उनले रामग्राम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाईमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरी मन्त्रालयले काम गर्ने समेत प्रतिबद्धता जनाए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित रुपमा सुचारु गर्ने जिकिर गरे । उनले विमानस्थलबाट लुम्बिनीमा बढीभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे ।
लुम्बिनी परिषद् बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पेस गरिएको छ । नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरु अघि सारिएको छ ।
त्यस्तै परिषद्ले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिस्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन् । मंगलबार साँझ लुम्बिनी पुगेका मन्त्री श्रेष्ठले लुम्बिनीको मायादेवी मन्दिर, रामग्राम र देवदहको भ्रमण गरेका छन् ।