खोला ओगट्ने प्रवृत्ति निस्तेज पारिने
काठमाडौँ- विद्युत् आयोजना बनाउने भन्दै विद्युत् खरिद बिक्री सम्झौतासमेत गर्ने तर आयोजना नबनाउने प्रवृत्तिविरुद्ध सरकार कठोर बन्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खोला ओगटेर बस्ने यस्तो प्रवृत्ति निस्तेज पारिने बताउनुभएको हो ।
करिब एक हजार छ सय मेगावाट क्षमताका आयोजना टेक अर पेमै पीपीए गरेर पनि निर्माणमा गएका छैनन् । लाइसेन्स लिने, पीपीए गर्ने तर निर्माणमा नगई खोला ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गरी वास्तविक प्रवद्र्धकलाई प्रोत्साहन गर्नेतर्फ हामीले कदम चाल्न आवश्यक छ नेपाल आर्थिक पत्रकार समाज (सेजोन)द्वारा आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो ।
संसद्मा विचाराधीन नयाँ विद्युत् विधेयकले विद्युत् व्यापार एवं प्रसारण प्रणालीमा खुला पहुँचको व्यवस्था गरेको बताउँदै मन्त्री भुसालले अन्तर्राष्ट्रिय अभ्यासका साथै हाम्रो आफ्नो परिवेश र आवश्यकतालाई समेत ध्यानमा राखेर ऊर्जा क्षेत्रमा थप नीति विकास गर्दै लैजानुपर्ने औँल्याउनु भयो ।
रन–अफ–रिभर आयोजनाको पीपीए खुला गर्नेतर्फ तयारी भइरहेको चर्चा गर्दै मन्त्री भुसालले निर्यातका लागि थप आयोजना सूचीकृत गर्न पहल भइरहेको जानकारी दिनुभयो । उहाँले विद्युत् उत्पादन बढ्दै जाँदा बङ्गलादेशसम्म पु¥याउन ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्न जरुरी रहेको आँैल्याउनुभयो ।
सोही अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विद्युत्को आन्तरिक खपत बढाउन र निर्यात गर्न विद्युत् उत्पादन, प्रसारण र वितरणको लागतलाई घटाउन आवश्यक रहेको र यी तीनै क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको राससले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र जल तथा शक्ति आयोगको सचिवालयका सचिव दिनेश घिमिरेले विद्युत्को आन्तरिक खपतमा वृद्धि र विद्युत् निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने भएकाले बढीभन्दा बढी विद्युत् उत्पादन र प्रसारण लाइनको विस्तारमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारबाट प्राधिकरणले छोटो समयमै राम्रो आम्दानी गर्न सकेको तथ्याङ्क प्रस्तुत गर्दै आन्तरिक रूपमा विद्युत्को खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोग, विद्युतीय भान्छा र उद्योगधन्दामा विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा डा. रामप्रसाद धिताल र मनोज खड्काले अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य विषयक कार्यपत्र प्रस्तुत गर्दै अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य निर्धारणका सैद्धान्तिक पक्ष र नेपालको सन्दर्भमा उपयुक्त ढाँचाका बारेमा प्रकाश पार्नुभएको थियो ।