हिउँदमा गाडी चल्ने ग्रामीण सडक वर्षामा अवरूद्ध
बाजुरा- देखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक वर्खा सुरु भएसँगै अवरुद्ध भएको छ । हिउँदको महिना स्काइभेटरले जमिन कमजोर हुने गरी गाउँसम्म निर्माण गरिएका सडक वर्खामा पहिरोका कारण अवरुद्ध भएका छन् ।
बूढीगङ्गा नगरपालिका–७ झालीका स्थानीय चेतमान सार्कीले स्थानीय सरकारले करोडौं रुपियाँ खर्च गरी निर्माण गरेका ती सडक वर्खाको भलले चिरा पारेपछि अवरुद्ध भएको जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो बाजुराका नौवटै स्थानीय तहले यातायातमा सहज हुने गरी गाउँमा सडक पहुँच गर्ने कार्यलाई बढी प्राथमिकता दिएर करोडौं रुपियाँ खर्च गरे पनि यहाँका स्थानीयलाई वर्खाको समय एक गाउँबाट अर्को गाउँ जान एक दिन हिँड्नुपर्ने अवस्था भएको हो ।
सार्कीले गाउँमा सडक खन्दा वातावरणीय प्रभाव मूल्याङ्कन बिनै खनिएका सडकमा पहिरो खसेपछि वर्खा गाउँमा सवारी साधान सञ्चालनमा आउन नससेको बताउनुभयो ।बाजुराको डाब खप्तड पर्यटन, बेतालमाडौंदेखि झाली, पुडावाउला, टुनीसैन, टम्टाना, लिसाना गुदुखातीलगायतका ग्रामिण सडक अवरुद्ध हुँदा वर्खाको समय स्थानीयलाई गाउँदेखि पालिकासम्म आवत जावत गर्न निकै सास्ती खेप्नु परेको हो ।
पालिकाले करोडौं रुपियाँ खर्च गरेर खनेका सडकले गाउँमा रहेको खेती योग्य जमिन बगाउँदा निकै क्षति भइरहेको स्थानीय बताउँछन् । बूढीगङ्गा नगरपालिका–१० पाउनु सार्कीले मापडण्ड विपरीत खनिएका सडकले सर्वसाधारणलाई सुविधा दिनुभन्दा दुःख दिने गरेको जानकारी गर्नु भएको छ ।
बूढीगङ्गा नगरपालिका–७ का वडा अध्यक्ष भुवनसिहं केसीका अनुसार विगत पाँच वर्ष गाउँसम्म सडक पुर्याउने काम भयो र अब सडकको स्तरोन्नति गर्ने योजना रहेको छ ।
वडा अध्यक्ष केसीले वर्खाको समय पानीका कारण सडक भत्किने र सडकमा भएको माटो बगाएर ढुङ्गा मात्र राख्ने गरेपछि सडक अवरुद्ध हुँदै आएको छ । केही वर्षमै यसको व्यवस्थापन हुने गरी सडक स्तरोन्नति गर्ने गरी रकम विनियोजन गर्ने उहाँले बताएका छन् ।