Connect with us
Kapilvast Forest

पोखरा विमानस्थल पुस १७ देखि सञ्चालन हुने

२०७९, २३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७)देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ।

करिब २२ अर्ब रुपियाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ। त्यस्तै विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जानकारी गराएको थियो ।

छ सय रुखमध्ये चार सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ। दुई हेक्टर क्षेत्रफलमा फैलिएको उक्त डाँडाको दुई थुम्का कटानका लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्ने भएको हो ।

विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई ध्यानमा राखेर उक्त डाँडा कटान गर्नुपरेको हो। प्रारम्भिक सर्भेअनुसार तीन लाख ७० हजार घनमिटर माटो कटान गर्नुपर्नेछ। सन् २०२१ को जुलाईभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय गौरवको आयोजनाको अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तीय प्रगति भएको थियो ।

प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गाेलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ। विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गर्ने ठेक्का पाएको हो ।

नयाँ विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरिरहेको थियो।