Connect with us
Kapilvast Forest

बालबालिकालाई शिक्षा शिविर

२०७९, २६ श्रावण बिहीबारमा प्रकाशित

दिपायल- आदर्श गाउँपालिका–१, बाहुनटाँकका नवीन खड्का कक्षा ३ मा पढ्छन् । अरू दिन विद्यालय गए पनि शनिबारको बिहान ७ बजे पढाइ शिविरमा सहभागी बन्छन् । पढाइ शिविरमा सहभागी हुनुअघि पढाइमा मन नलगाउने, बोल्न लजाउने नवीन विद्यालयबाट फर्केपछि बिदाको समय गाउँघर डुलेरै दिन बिताउने गर्थे ।

नवीनकी आमा कल्पनाका अनुसार उनी अहिले निरन्तर विद्यालय जान्छन् । पढ्न रुचाउँछन् । निर्धक्क बोल्न र प्रश्नको जवाफ दिन्छन् । घरको पढाइ कुनामा आफूले बनाएका चित्र र पुस्तक जतन गरी राख्छन् ।

आदर्श–५, पिडकी लक्ष्मी धामी पनि आत्मविश्वाससाथ आफ्नो प्रस्तुति दिन सक्छिन् र निरन्तर पठनपाठनमा ध्यान दिन्छिन् । नवीन र लक्ष्मी मात्र होइन, उनीहरूजस्तै धेरै बालबालिका पढाइ शिविरका कारण आफ्नो सिकाइ स्तर र अतिरिक्त क्रियाकलापमा समेत अब्बल बन्न थालेका हुन्।

पढाइ शिविरको लक्ष्य बालबालिकामा बुझेर पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धि बढाउने रहेको छ । अहिले डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका ९२ वटा टोलमा पढाइ शिविर केन्द्र सञ्चालन गरिएको हो ।

प्रारम्भिक शिक्षालाई गुणस्तरीय र बालबालिकामा नियमित पढ्ने बानीको विकास गर्न बालबालिकाको सिकाइ उपलब्धिमा वृद्धि गर्न शिविर सञ्चालन गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभएको थियो ।

हरेक हप्ताको शनिबार सञ्चालन हुने पढाइ शिविरमा तीन वर्ष उमेर पुगेका बालबालिकादेखि कक्षा ३ सम्म पढिरहेका बालबालिकाको सहभागिता हुन्छ । वल्र्ड भिजन इन्टरनेसनलको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र र सिड नेपाल डोटीले जिल्लाका विभिन्न समुदायमा पढाइ शिविरलगायत अन्य शैक्षिक कार्यक्रम गर्दै आइरहेका हुन्।

९२ वटै पढाइ शिविर केन्द्रमा एक÷एक जना तालिमप्राप्त पढाइ विकास सहजकर्ता राखेर गाउँभरिका बालबालिकालाई एक ठाउँमा भेला गराएर हरेक शनिबार ९० मिनेटको कक्षा सञ्चालन गरिन्छ । सहजकर्तासँग बालबालिका खेल खेल्ने, गीत गाउने, कथा सुन्ने र चित्र बनाउने पनि गर्छन् । शिविरमा आउने बालबालिकालाई कापी, किताब, पेन्सिललगायतका शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइन्छ । शिविरबाट ३ कक्षा पास गरेका बालबालिकालाई प्रमाणपत्रसहित बिदाइ गरिन्छ ।

शिविरमा बालबालिकालाई सातवटा चरणमा पढाउने गरिन्छ । सुरुमा स्वतन्त्र खेलबाट सुरु हुने कक्षा क्रमशः बाल गीत, विषयवस्तु, कथा, पढ्ने लेख्ने क्रियाकलाप, बनाऊ र लैजाऊ हुँदै दैनिकी लेख्न लगाएर अन्त्य हुन्छ । शिविरमा आउने बालबालिकामा बढ्ने बानीको विकास भएको अभिभावक बताउँछन् ।

शिविरमा आउने बालबालिकाका अभिभावकलाई महिनाको एक दिन भेला गराएर सचेतना गोष्ठी पनि गरिन्छ । जसले गर्दा अभिभावकमा आफ्ना बालबालिकाको पढाइ, सरसफाइलगातका कुरामा ध्यानाकर्षण गराउँछ । पढाइ शिविर सञ्चालन भएपछि विद्यालयमा पनि राम्रो प्रभाव परेको प्रधानाध्यापक गणेशप्रसाद अवस्थीको दाबी छ ।
पढाइ शिविर प्रभावकारी देखिएकाले परियोजनाको समयावधिपछि पनि गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताएका हुन् ।

शिक्षा परियोजनाले गाउँपालिकामा सुरुवात गरेको पढाइ शिविरले बालबालिकामा पढ्ने बानीको विकास भएको जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लक्ष्मणबहादुर सिंहले जनाउनु भयो । पढाइ शिविर सञ्चालन हुने ठाउँ बालबालिकाको रुचि जाग्ने खालका चित्र भएका पुस्तक, पोस्टर, रङ्गीन प्ले कार्ड, कथाका पुस्तकलगायतका शैक्षिक सामग्रीले सजाएको पाइन्छ । जसले गर्दा बालबालिका सिक्न पढ्न निकै उत्साहित भएका छन् ।

घरघरमा पढाइ कुनो

शिविरमा आउने बालबालिकाको घरमा अभिभावकको सहकार्यमा पढाइ कुना बनाइएकोे हुन्छ । घरको एउटा कोठामा बालबालिकाका शैक्षिक सामग्री, पोसाक आदि राखिएको ठाउँलाई पढाइ कुना भनिन्छ । पढाइ शिविरमा बालबालिकाले आफूलाई मन पर्ने चित्र बनाइ आफ्नो घरको पढाइ कुनामा सजाउने गरेको आदर्श गाउँपालिका–५ स्थित पढाइ शिविर सहजकर्ता भगवती धामीलेजानकारी गर्नु भएको हो।

उहाँका अनुसार बालबालिका घरमा समेत रुचिपूर्ण तरिकाले पढून् भन्ने उद्देश्यले गाउँघरमा पढाइ कुनालाई अनिवार्य गरिएको छ । घरमा पढाइ कुना राखेसँगै बालबालिका चाँडै घर आउने, खाना खाइसकेपछि पनि आफ्नो पठनपाठनमा लाग्ने चित्र बनाउने, विद्यालयबाट फर्किसकेपछि गृहकार्य गर्नेजस्ता क्रियाकलापमा लाग्ने गरेको अभिभावक बताउनु भएको छन् ।