Connect with us
Kapilvast Forest

नमुना मतपत्र छाप्न सुरु

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

election

काठमाडौँ – निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिनुभयो। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ।

जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ।”

निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्रको डिजाइन अझै गरिसकेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को चुनाव चिह्न के हुने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा आयोगलाई मतपत्र डिजाइन गर्न समस्या भएको थियो तर सर्वोच्च अदालतले गाई चुनाव चिह्न माग गरेको राप्रपा नेपालको रिट खारेज गरेको छ।

यससँगै निर्वाचन आयोगले राप्रपा नेपाललाई प्रदान गरेको चुनाव चिह्न तीर नै कायम हुने भएको छ। सर्वोच्च अदालतले मङ्गलबार मात्रै उक्त रिट खारेज गरेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अदालतको आदेशपछि चिह्न कायम गर्न र मतपत्र छपाइको अवरोध हटेको बताउनुभयो।

आठ करोड मतपत्र छापिने

मङ्सिर ४ मा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब आठ करोड मतपत्र छापिनेछन्। आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ चार करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ चार करोड मतपत्र छापिनेछन्।

आयोगले आगामी चुनावमा करिब एक करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ। कायम रहेको मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्दै आएको अभ्यास छ। आयोगले असोज २५ गतेभित्र मतपत्र छापिसक्ने लक्ष्य राखेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu