३ वर्षभित्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ : मन्त्री भुसाल
काठमाडाै – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे तीन वर्षमा नेपाल पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुने दाबी गर्नुभएकाे छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आउँदाे तीन वर्षमा देश पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुने बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षमा नेपालमा बिजुलीकाे आयातभन्दा निर्यात बढी भइ नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आउँदाे तीन वर्षभित्र देश पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर हुनेछ । चालु आर्थिक वर्षमा कुल विद्युत् आयातभन्दा कुल विद्युत् निर्यात बढी भइ नेपाल खुद विद्युत् निर्यातकर्ताको रूपमा पुग्ने अवस्था देखिएको छ ।’
मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्फत ३६४ मेगावटसम्मको बिजुली खरिद/बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने बिजुली भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनुभयो । बिजुली निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने उहाँकाे भनाइ छ ।
मन्त्री भुसालले नेपालले वार्षिकरूपमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्षमात्रै बाँकी रहेको बताउनुभयो । उहाँले अहिलेसम्म बिजुली खरिद/बिक्री सम्झौता र बिजुली उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा त्याे लक्ष्य पूरा गर्न कठिन रहेको उल्लेख गर्नुभयाे ।