आईफोन १४ सार्वजनिक, कति पर्छ मूल्य?
काठमाडौं। एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिज सार्वजनिक गरेसँगै कम्पनीले ‘मिनी’ मोडेललाई ‘प्लस’ मोडेलमा रूपान्तरण गरेको छ।
१२८ जीबी इन्टर्लन स्टोरेज क्षमता भएको आईफोन १३ को मूल्य ७९९ डलर (करिब १ लाख १ हजार २०० रुपैयाँ) पर्छ। त्यस्तै यही स्टोरेज क्षमता भएको आईफोन १४ मूल्य कति होला धेरैको जिज्ञासा छ।
यसैगरी २५६ जीबी स्टोरेज भेरियन्टको आईफोन १३ र २५६ जीबी स्टोरेज भेरियन्टको आईफोन १४ को समान मूल्य अर्थात् करिब ८९९ डलर (करिब एक लाख १३ हजार ८०० रुपैयाँ) रहेको कम्पनीले जनाएको छ।
तर, ५१२ जीबी भेरियन्टमा आईफोन १३ को मूल्य आईफोन १४ भन्दा बढी छ। ५१२ जीबी स्टोरेज भएको आईफोन १४ को मूल्य ९९९ डलर (करिब एक लाख २६ हजार ४०० रुपैयाँ) पर्छ भने ५१२ जीबी स्टोरेज भेरियन्टको आईफोन १३ को मूल्य १०९९ डलर (करिब एक लाख ३९ हजार २०० रुपैयाँ) रहेको छ।
त्यस्तै आईफोन १३ प्रो र आईफोन १४ प्रोको मूल्य तुलना गर्ने हो भने दुवैको मूल्य समान रहेको छ। १२८ जीबी स्टोरेज क्षमता भएको आईफोन १४ प्रो र आईफोन १३ प्रोको मूल्य ९९९ डलर (करिब एक लाख २६ हजार ५०० रुपैयाँ) रहेको छ।