Connect with us
Kapilvast Forest

नेपालमा खेलकुद विश्वविद्यालय खोल्छु: प्रधानमन्त्री देउवा

२०७९, ३१ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्नुहुँदै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना बनाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल खेलकुदप्रति धेरै नै अगाडि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ तर पनि ओलम्पिकलगायत धेरै विधामा हाम्रा साथीहरुले भाग लिनुभएको छ । हाम्रा धेरै युवाहरु पनि खेलकुदमा रमाउँछन् । हाम्रो मन्त्रीज्यूले मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालय खोल्ने तयारीमा लाग्ने छौँ ।’’

कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले कोभिडलगायतका धेरै कारणले गर्दा देशको आर्थिक अवस्था राम्रो छैन । तर पनि शुरुवात गर्ने हाम्रो सोचाइ छ । शुरुवात गर्नेछाँै । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’’

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपियाँ राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवम् दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवम् साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य हुनुहुन्छ ।

ट्रफी आज शुक्रवार सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते वागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा असोज ७ गते बिहान १० बजे, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते सार्वजनिक गरिने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu