Connect with us
Kapilvast Forest

गठबन्धन : कपिलवस्तुमा कुन दल कहाँ टिकट पाउने ?

२०७९, ११ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ —कांग्रेसका लागि ८०/८५ निर्वाचन क्षेत्रमा समझदारी, माओवादीलाई ४५/४७, एकीकृत समाजवादी र जसपालाई १५/१७ तथा जनमोर्चालाई २ सिट सहमतिनजिक पुगेका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय चाहिने भएकाले गठबन्धनबीच मंगलबारसम्ममा सहमति जुटाउने गरी पहल भइरहेको छ,’ उनले भने, ‘अहिले प्रदेशसभाका ३ सय ३० क्षेत्रमा सहमतिनजिक पुगिरहेका छौं ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४/८५ सिटमा झर्ने संकेत दिएका छन् ।

कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत

 

समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ । तीन दलबीचमा सिट बाँडफाँटका लागि करिब सहमति जुटिसकेको माओवादीका एक नेताले बताए । ‘एकीकृत समाजवादी र जसपाले अलि बढी दाबी गरेकाले केही समस्या भएको छ,’ ती नेताले भने, ‘प्रदेशसभाको सिटमा छलफल गर्दै जाँदा त्यसमा पनि सहमति बन्छ । त्यो भएन भने यो पनि हुन्न भन्ने किसिमले अड्किएका छन् । संघ र प्रदेश दुवैतर्फ सबै सिटमा समझदारी बनेपछि एकैचोटि सार्वजनिक गर्छौं ।’

माओवादी र एकीकृत समाजवादीबीच धेरै निर्वाचन क्षेत्रमा दाबी देखिएका छन् । माओवादीले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित छ । तीमध्ये दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा सहमति बनिसकेको छ । अन्यमा दोहोरो र तेहरो दाबी रहे पनि शीर्ष तहमा करिब समझदारी बनेको छ । गठबन्धनमा सामेल कांग्रेसका एक नेताका अनुसार दुई–चार सिटमा कुरा नमिले पनि कांग्रेसले पाउने क्षेत्र करिब तय भइसकेको छ । संख्यामा माओवादी, नेकपा (एस) र जसपाबीच समेत करिब सहमति छ तर निर्वाचन क्षेत्रमा २५/३० स्थानमा विवाद कायम छ ।

 

मधेस प्रदेशका केही सिटमा कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ । संख्या बाँडफाँटमा भने करिब सहमति नै छ । मधेस प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र एकीकृत समाजवादीले २ सिट लिने गरी शीर्ष नेताहरूबीच सहमति बनेको छ ।

कपिलवस्तुको क्षेत्र नं १ मा प्रतिनिधि सभामा नेपाली कांग्रेस र माओवादी केन्द्र मध्ये कुनै एकले टिकट पाउने सहमती भएको छ । जिल्लाको क्षेत्र नं २ मा नेपाली काग्रेसले टिकट पाउने सहमती भएको हो । त्यस्तै क्षेत्र नं ३ मा जनता समाजवादी पार्टीले टिकट पाउने सहमती भएको शिर्ष नेताहरुले बताएका छन ।
क्षेत्र नं १ मा नेपाली कांग्रेसका दिप कुमार उपाध्यय र माओवादी केन्द्रको चक्रपाणी खनाल (बलदेव) मध्ये एक जनाले टिकट पाउने छन् । क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता सुरेन्द्र राज आचार्य र क्षेत्र नं ३ मा जसपा नेपालका अशोक यादवले प्रतिनिधि सभाको टिकट पाउने सहमति भएको छ ।

 

सभारः कान्तिपुर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu