कपिलवस्तुमा मनोनयन दर्ताबाट ९ लाख ८५ हजार धरौटी रकम संकलन
सनिउल्ला धोबी,
कपिलवस्तु-
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारबाट कपिलवस्तुमा ९ लाख ८५ हजार धरौटी रकम संकलन भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको रु १० हजार र प्रदेश सभा सदस्यको लागि रु ५ हजार धरौटी रकम तोकेको थियो । प्रतिनिधि सभा पदमा मनोनयन दर्ता गराएका ५१ जनाको दश हजारको दरले ५ लाख १० हजार धरौटी संकलन भएको छ ।
प्रदेश सभा सदस्य पदमा मनोनयन गराएका कपिलवस्तु ९५ जना उम्मेदवारबाट ४ लाख ७५ हजार धरौटी संकलन भएको निर्वाचन आयोग कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु क्षेत्र नं १ मा २२ जना, क्षेत्र नं १ मा ११ जना र क्षेत्र नं ३ मा १८ जना गरि कुल ५१ जनाले प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता भएको निर्वाचन आयोग कपिलवस्तुको सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनुभयो ।
प्रदेश सभा तर्फ क्षेत्र नं १ को (क) मा ९ जना, १ को (ख) मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा तर्फ क्षेत्र नं २ को (क) मा १३ जना, २ को (ख) मा ११ जनाले मात्र मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं ३ को (क) मा १९ जना र ३ को (ख) २५ मा जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोग कपिलवस्तुको सूचना अधिकारी अनिता क्षेत्रीले बताउनु भयो ।
कपिलवस्तुमा प्रतिनिधि संसदीय क्षेत्र तीन वटा र प्रदेश संसद ६ वटा क्षेत्र रहेको छ । कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि तर्फ १८ जनाले मनोनयन दर्ता गराएको कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनु भयो ।
कपिलवस्तुमा दुई जनाको मनोनयन दर्ता हुन सकेन ।।
नागरिक उन्मुक्ति पार्टीबाट कपिलवस्तुमा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार पत्र दिएका दुई जनाको मनोनयन दर्ता हुन सकेको छैन ।कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार पत्र दिएका उमेश चौधरीले निर्वाचन खर्च नबुझाएकोले मनोनयन दर्ता नभएको हो ।
त्यस्तै ३ (ख ) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारी दिएका गोविन्द चौधरीको उमेर नपुगेकाले मनोनयन दर्ता नभएको निर्वाचन अधिकृत प्रकाशमरासिनीले बताउनु भयो ।
उमेश चौधरी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शिवराज ५ को वडा सदस्य पदमा उम्मेदवार बनेका थिए । गोविन्द चौधरीको २५ बर्ष नपुगेकाले मनोनयन दर्ता नभएको निर्वाचन कार्यालयले जनाएको छ ।