Connect with us
Kapilvast Forest

फूल नफुल्दा चिन्तामा किसान

२०७९, ४ कार्तिक शुक्रबारमा प्रकाशित

धनकुटा नगरपालिका वडा नं. ३, सिप्तेनका रेसबहादुर राईले यो वर्ष दस रोपनी १० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ। अघिल्लो वर्ष त्यही १० रोपनीमा लगाएको फूलबाट एक लाख ५० हजार आम्दानी गर्नुभएको राईले यो वर्ष पनि त्यति नै आम्दानी गर्ने सोच राख्नुभएको थियो तर यो वर्ष भने फूल कम फुलेका कारण चिन्तित हुनुहुन्छ। तिहारअघि नै फुलाएर बेच्ने लक्ष्यसहित फूल खेती गर्नुभएका राई तिहारपछि फूल फुल्ने चिन्ताले सताएको छ। यतिबेला फूल फुल्न थाल्नुपर्ने हो तर भर्खर कोपिला बस्दैछ, कहिले फुल्छ अनि कहिले बेच्नु, तिहारपछि त पक्कै फूल बिक्दैन उहाँ भन्नुहुन्छ।

धनकुटा जिल्लाको सयपत्री फूलको पकेट क्षेत्र मानिने स्याउले, लाँकुरे र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफुलेपछि यहाँका किसान चिन्तित बनेका छन्। यस क्षेत्रका एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन्। धेरैको तिहार खर्च नै फूल खेती हो भने केहीको गतिलो आम्दानीको माध्यम यही हो।

धनकुटा नगरपालिका–३, सिप्तेनकै सुकमाया राई पनि पाँच रोपनी क्षेत्रफलमा लगाएको फूल नफुलेपछि निराश हुनुहुन्छ। तिहार नजिकिँदै गर्दासमेत बारीको फूल नफुलेपछि चाडपर्वको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता उहाँलाई छ।

अघिल्ला वर्षहरूमा आयातित र कृत्रिम फूलका कारण समस्यामा परेका यहाँ कृषकलाई यो वर्ष भने फूल नफुल्ने चिन्ताले सताएको छ। फूल खेतीबारे कुनै जानकारी नहुँदा फूल कहिले समय अगावै त कहिलेपछि फुल्ने गरेको कृषकको गुनासो छ। कृषि ज्ञान केन्द्र धनकुटाले भने जलवायु परिवर्तनका कारण मौसम परिवर्तन र कृषि क्षेत्रमा प्रयोग हुने अधिक विषादीका कारण समयमै फूल नफुलेको हुनसक्ने जनाएको छ। जिल्लामा हाल सयपत्री फूलको व्यवसायिक खेती नभएको र मौसमी खेती मात्र हुनेगरेको सो केन्द्रले जानकारी दिएको छ।

तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले धनकुटामा एक दशक यता व्यावसायिक रूप लिएको छ। धनकुटाको धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका साँघुरीगढी, चौबिसे गाउँपालिका विभिन्न स्थानमा फूलको व्यावसायिक खेती हुने गरेको छ। सुन्तला तथा तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका यहाँका कृषकले तिहारलाई लक्षित गरी गरिएको फूल खेती भने तिहारको खर्च जुटाउने मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ।

कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कअनुसार धनकुटामा करिब २५० परिवारले चार हेक्टर क्षेत्रफलमा व्यावसायिक फूलको खेती गर्ने गरेको जनाएको छ। एक परिवारले वार्षिक २० हजारदेखि दुई लाख रुपियाँसम्म बिक्री गर्ने गरेका छन्। यहाँ उत्पादन भएको फूल झापा मोरङ सुनसरीका विभिन्न बजारसम्म पुग्ने गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu